© 2026
गुल्मी, २३ साउन ।
वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिएका छन् ।
डहरेमा सडक माथिबाट लेदो सहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै वाग्लुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् ।अवरुद्ध सडक सुचारु गर्नका लागि अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सुचारु गर्न समस्या परेको प्रहरीले जनाएको छ ।
उक्त खोलाले गत तीन दिन अघि खोला तर्दै गरेको अवस्थामा एउटा कार समेत बगाएको थियो । त्यसै गरी सुख्खा पहिरोका कारण रिडी‐खज्र्याङ् सडक पनि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेक्षेत्र गाउँपालिका ‐१ स्थित साँखरमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
वर्षाको कारण कालीगण्डकी र बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षादको समयमा खोलाको टटीय क्षेत्रका नागरिकहरुलाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । गुल्मीमा दुई सय भन्दा बढी स्थानहरु बाढी पहिरोको उच्च जोखिममा रेहको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जनाएको छ ।