Butwal Today

शान्त सहरलाई अशान्त नबनाऊ 

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

विश्व शान्तिको सहर लुम्बिनी विरोध र धर्ना कार्यक्रमले एक सातादेखि अशान्त र अस्तव्यस्त बनेको सुन्दा नेपालीलाई मात्रै होइन, विश्व समुदायलाई नै चिन्तित बनाएको छ । यही साउन १३ बाट लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा कर्मचारीले तालाबन्दी गरेर कामकाज ठप्प गरेपछि शान्ति स्थल लुम्बिनी अस्तव्यस्त बन्नु चिन्ताको कुरा हो ।

कर्मचारीहरूले बिहान १० बजे नै लुम्बिनी कोष प्रधान कार्यालय अघि धर्ना दिने गरेका छन् । कर्मचारीहरूले मागबारे कुनै सुनुवाइ नभएपछि साउन १३ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर विरोध गर्दै आएका छन् । चार बुँदे माग राखेर आन्दोलित बनेका लुम्बिनी विकास कोष कर्मचारी युनियनको मागका बारेमा जिम्मेवार पदाधिकारीले कुनै चासो नराख्दा लुम्बिनी अशान्त बन्नु बौद्ध मार्गीका लागि मात्र होइन, समग्र नेपालीको लागि चिन्ताको कुरा हो ।

कर्मचारी दिनहुँ आन्दोलनमा होमिँदा कोषका उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट सबै काठमाडौँमा छन् । कर्मचारीको आन्दोलनको समस्या समाधानमा चासो नदिँदा कोष नेतृत्वविहीन जस्तै भएको छ । त्यसबिचमा सदस्य–सचिव शाक्यले साउन ५ मै राजीनामा दिए पनि स्वीकृत भएको छैन ।

कोषका जिम्मेवार पदाधिकारी र उच्च अधिकृत राजधानी गएर बस्दा कर्मचारीको माग सुनुवाइमा ढिलाइ भइरहेको छ । यसले लुम्बिनीप्रति नकारात्मक सन्देश प्रवाह हुने हो कि भन्ने चिन्ता बढेको छ । तसर्थ कर्मचारीको जायज माग सम्बोधन गर्नेतर्फ पदाधिकारीहरूको तत्काल ध्यान जाओस् । अर्कोतर्फ लुम्बिनीमा उपलब्ध वरिष्ठ कर्मचारीमध्ये कसैलाई पनि कोषको निमित्त प्रमुखको जिम्मेवारी नदिँदा कोष अभिभावकविहीन बनेको छ ।

कर्मचारीहरू आन्दोलनमा उत्रिएको यतिका दिन बितिसक्दा पनि कोषले कुनै चासो नदिँदा कर्मचारीमा आक्रोश बढ्नु स्वाभाविक हो ।  धेरै वर्षदेखि लुम्बिनी विकास कोषमा अनियमितता हुने गरेको कुराले चर्चा पाउने गरेको छ । विडम्बना सम्बद्ध निकाय लुम्बिनीको विषयमा उठेका विषयमा छानबिन र अनुसन्धानसम्म गर्न चाहँदैन ।

कोषको केन्द्रीय कार्यालय लुम्बिनीमै भए पनि पदाधिकारीहरूले काठमाडौँमा बसेर भत्ता बुझ्ने र अनियमितता गर्ने गरेको स्थानीयको आरोप छ । त्यसो त लुम्बिनी विकास कोषभित्र अनियमितता हुने गरेको गुनासो यस पटक मात्रै होइन, धेरै वर्ष अघि देखिको हो । लुम्बिनीमा उत्खननको समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्ति र बोधिवृक्ष बेचिएको आरोप कोषका पदाधिकारीमाथि लाग्दै आएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्वको मायादेवी सुत्केरी मार्गप्रति बेवास्ता गरिएको छ । सर्वोच्च अदालतको २०६४ माघ २३ को आदेश विपरीत संरक्षणका बहानामा प्रवेश शुल्क लगाइएको छ । मन्दिर तोडेर संरचना परिवर्तन गरिएको छ । यी विषय गम्भीर प्रकृतिका छन् । तसर्थ यो विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस् ।

लुम्बिनी विकास कोषका पदाधिकारी नै चारतिर फर्किएका कारण लुम्बिनीमा समस्या र चुनौती थपिएको बुझाई छ । यदि यस्तो भएको हो भने सरकारले तत्काल समस्या समाधानमा चासो देखाउनु जरुरी छ । पदाधिकारी नमिल्दा समस्या हुन्छ भने त्यस्ता पदाधिकारीलाई बहिर्गमन गरेर तत्काल लुम्बिनी विकास कोषलाई चलायमान गराउनेतर्फ सरकार र सम्बन्धित मन्त्रीको ध्यान पुगोस् ।

विश्व शान्तिको सहर लुम्बिनी नेपालको मात्रै होइन, विश्वकै शान्ति प्रेमीहरूको आस्थाको केन्द्र हो । अझै बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । अहिंसाका नायक भगवान् बुद्धको शान्तिको सन्देश प्रवाह गर्ने महत्त्वपूर्ण स्थान जहाँ बुद्धको जन्म भएको थियो, त्यही लुम्बिनीको विषयमा बेलाबेलामा विवादका कुरा बाहिर आउनु राम्रो होइन ।

लुम्बिनीको साख गिराउने काम कुनै पनि अवस्थामा राम्रो होइन । तसर्थ कर्मचारीहरूले गरेको आन्दोलनका कारण काम काज ठप्प भएको अवस्थामा उनीहरूसँग वार्ता गरी समस्या समाधानको प्रयास होस् । लुम्बिनी विकास कोषका पदाधिकारीले बेवास्ता गरे पनि सम्बद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?