Butwal Today

रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २३ साउन ।

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनमा खतिवडाको संलग्नता रहेको ठहर गर्दै कांग्रेसले उनलाई नैतिक जिम्मेवारी लिन आग्रह गर्न लागेको हो ।

विधेयकमा उल्लेख गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्था निष्क्रिय हुने गरी प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि खतिवडा विवादमा परेका थिए । समितिबाट विधेयक पारित गर्दा सभापतिको हैसियतमा खतिवडाले लिएको भूमिकाले आलोचना खेपेको थियो ।

यस घटनापछि कांग्रेसले सहमहामन्त्री जीवन परियारको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले खतिवडा जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनका आधारमा पार्टीभित्र उनलाई जिम्मेवारीबाट हटाउनुपर्ने आवाज चर्किएको हो ।

कांग्रेस स्रोतका अनुसार अब केही दिनभित्रै खतिवडालाई सभापतिको जिम्मेवारीबाट राजीनामा दिन निर्देशन दिइनेछ । पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच यो विषयमा सहमति बनिसकेको बताइएको छ । देउवा आफैं पनि खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।

पार्टीभित्र र बाहिरबाट बढ्दो दबाबपछि खतिवडाले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?