© 2026
नेपालगन्ज, २३ साउन ।
नेपालगन्जको भेरी अस्पतालले पश्चिम नेपालका लाखौँ बिरामीलाई वर्षौँदेखि औषधि र उपचार सेवा दिँदै आएको छ । अब यो अस्पतालले अर्को ठुलो कदम चाल्दै उपचारसँगै विशेषज्ञ चिकित्सक तयार पार्ने ‘शैक्षिक’ भूमिका पनि सुरु गरेको छ । सङ्घीय सरकारले सञ्चालन गर्ने यो रेफरल अस्पतालमा एमडी–एमएस कार्यक्रम सञ्चालन गर्ने सपना वर्षौँ पुरानो हो ।
आवश्यक प्रक्रिया सुरु भए पनि परिणाम देखिन नसकेको यो योजनाले गत असार महिनाबाट नयाँ मोड लियो । दोस्रो सातादेखि औपचारिक रूपमा ‘मेडिसिन’ र ‘सर्जरी’ विभागमा एमडी–एमएस अध्यापन सुरु भइसकेको छ । यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच औपचारिक सम्झौता भएको थियो ।
सम्झौता अनुसार न्याम्सको सिनेट बैठकले अनुमति दिएपछि पहिलो चरणमा ११ जना चिकित्सकलाई सह–प्राध्यापक र उप–प्राध्यापक पद प्रदान गर्दै अध्यापन सुरु गरिएको हो । हाल मेडिसिनमा डा. राजन पाण्डे, डा. विकास नेपाल, डा. सङ्केत रिसाल र सर्जरीमा डा. निराजन सुवेदी, डा. दिपेश गुप्ताले आवासीय चिकित्सकलाई प्रशिक्षण दिइरहेका छन् ।
स्त्रीरोग तथा प्रसूति (गाइनेकोलोजी) र हड्डी रोग (अर्थोपेडिक्स) विभागमा पनि छिट्टै आवासीय चिकित्सक भर्ना हुने तयारी भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी भन्छन्, “रेसिडेन्ट डाक्टर बस्ने बित्तिकै अस्पताल शैक्षिक थलो मात्र नभई थप जनशक्ति पाउने स्रोत बनेको छ । बिरामी सेवा छिटो, छरितो र गुणस्तरीय हुने छ ।’’
आवासीय चिकित्सकहरू २४ घण्टा अस्पताल परिसरमै बस्ने भएकाले ओपिडी, आकस्मिक, आईसीयूदेखि सबै विभागमा उनीहरूको उपस्थिति रहनेछ। यसले डाक्टरको अभाव न्यून पार्ने मात्र होइन, बिरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ । मेडिसिन विभागका आवासीय चिकित्सक डा. सुरेन्द्र अधिकारी भन्छन्, “यहाँका डाक्टरहरू अनुभवी मात्र होइन, माया गर्ने पनि हुनुहुन्छ ।
हामीले सिकलसेल एनिमिया, थालेसिमिया, कालाजार, मलेरिया, डेंगीजस्ता बिरामीलाई प्रत्यक्ष हेरेर अध्ययन गर्ने अवसर पाएका छौं, जुन ठुलो गर्वको कुरा हो ।’’ सर्जरी विभागका रेसिडेन्ट डा. दिब्य बानिया पनि भेरीको वातावरण सहज र अध्ययन–अनुकूल रहेको बताउँछन् । भेरी अस्पतालका सह–प्राध्यापक डा. राजन पाण्डेका अनुसार, “बीर अस्पतालसँग तुलना गर्दा पनि यहाँ कुनै कमी छैन ।
बरु केही रोगहरू—जस्तै मलेरिया, कालाजार—तराई क्षेत्रमा मात्र देखिने भएकाले अध्ययनको दृष्टिले भेरी अझ समृद्ध छ ।’’ अस्पतालले आगामी वर्ष ईएनटी (नाक, कान, घाँटी), रेडियोलोजी र छालारोग विभागमा पनि एमडी–एमएस अध्यापन सुरु गर्ने योजना बनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाह भन्छन्, “उपचार सेवासँगै शैक्षिक गतिविधि सुरु भएपछि भेरी अस्पतालको स्तर स्वाभाविक रूपमा बढेको छ ।’’ न्याम्सले सम्बन्धित सरकारी अस्पतालसँग सम्झौता (एमओयू) गरी, मापदण्डअनुसार फ्याकल्टी पद सृजना गर्छ ।
प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगमार्फत लिइन्छ, जसमा उत्कृष्ट हुनेलाई पूर्ण छात्रवृत्तिमा पठाइन्छ । आवासीय चिकित्सकले सरकारी चिकित्सक बराबरको तलब–भत्ता पाउँछन्, जबकि अतिरिक्त सुविधा सम्बन्धित अस्पतालले उपलब्ध गराउँछ ।