© 2026
सुर्खेत,२३ साउन ।
कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवाभन्ने स्थानमा आज बिहान साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।तीव्र गतिका कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइए पनि उनीहरुलाई थप उपचारका लागि सुर्खेत लगिँदै छ । प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेपछि घाइतेहरूको तत्कालै उद्धार गर्न समस्या भएको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।