© २०२३
समाचार सारांश
सुनवल, बर्दघाट, रामग्राम लगायतका पालिकाहरूमा रोग फेरी देखा परेको छ ।
परासीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले परीक्षण गर्दा १४ वटा पशुमा लम्पी पोजेटिभ भेटिएको पुष्टि ।
हालसम्म ६ वटा स्थानीय तहका ६५ घरधुरीका ३२२ गाई र १५ भैंसीमा असर देखिएको छ ।
तिनीहरूमध्ये ७७ गाई र ५ भैंसी बिरामी छन् ।
नवलपरासी, २२ साउन ।
जिल्लामा अहिले पुनःलम्पी स्किन रोग देखा परेका छन् । सरोकारवाला निकायले बेलामै पशु स्याहार, खोप उपचारको काममा लापरबाही गर्दा अहिले जिल्लामा लम्पी स्किनको रोग पशुमा वृद्धि हुँदै गएको हो । विगत दुई वर्ष पहिला लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग महामारीको रूपमा देखिँदा यो जिल्लामा त्यसको प्रभाव कम देखिएको थियो ।
हरेक दिन लम्पी स्किनका बिरामी पशु भेटेनरी अस्पतालमा ल्याउने गरिएको छ । त्यसै गरी गाउँ गाउँबाट पनि सूचना आइरहेको भेटेनरी अस्पतालले जनाएको छ । यसले लम्पी स्किन लागेका पशुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । जिल्लामा लम्पी स्किन रोग बेलामै अभियानमुखी उपचार र खोप कार्यक्रम सञ्चालन नगरिए महामारीको रूपमा लिन सक्ने पशु चिकित्सकले बताए ।
जिल्लामै अवस्थित पशु रोग अन्वेषण प्रयोगशाला परासीले पशुको नमुना सङ्कलन गरी परीक्षण गर्दा सुनवल, बर्दघाट र रामग्रामका १४ वटा पशुमा लम्पी स्किन रोग पोजेटिभ देखिएको भनि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीलाई जानकारी पत्र पठाएको जनाएको छ । सो रोगको सङ्क्रमण बेलामै नरोकिए महामारीको रूप लिन सक्ने चिन्ता समेत उनले व्यक्त गरेका थिए ।
नमुना परीक्षणको क्रममा असार १ गते नै जिल्ला भित्रको पशुमा लम्पी स्किन पोजेटिभ देखिएको थियो, प्रयोगशालाका प्रमुख डा.भरत काफ्लेले पशु सेवा विज्ञ केन्द्रलाई पठाइएको पत्र देखाउँदै भने, अहिले प्रायः जिल्ला भरिका पशुमा देखिन थालेको छ । यसलाई नियन्त्रण गर्नका लागि जिल्ला स्तरमा अभियानकै रूपमा रोग नियन्त्रण गर्न उपचार, खोप अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ ।
यता नियमित दुई तीन वटा पशु भेटेनरी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिंहले बताइन् । उनका अनुसार हालसम्म जिल्लाका ६ पालिकाका ६५ घरधुरीका ३ सय २२ वटा गाई र १५ वटा भैँसी प्रभावित भएर उपचारमा आएको र त्यसमा ७७ वटा गाई र ५ वटा भैँसी विरामी नै भएको तथ्याङ्क उनले बताइन् ।
‘पाल्हीनन्दन गाउँपालिकाले अहिलेसम्म कुनै रिपोर्ट पठाएको छैन,’ उनले भनिन्–‘सीमावर्ती गाउँपालिका हो, त्यहाँ पनि पक्कै लम्पी स्किनका बिरामी पशु होलान् । सबैभन्दा बढी सुनवल नगरपालिकामा ३५ वटा गाई र १ भैँसी र बर्दघाट नगरपालिकामा २८ गाई र बिरामी भेटिएका छन् । ती पशुको औषधि उपचार गरिएर पठाइएको छ ।
जिल्लाभित्र ४३ जना भ्याक्सिनेटर रहेका छन् । स्थानीय सरकारले चाँहेमा ती भ्याक्सिनेटर परिचालन गरेर पनि सबै पशुलाई पुनःखोप अभियान सञ्चालन गर्न सक्छ । खोपले अन्य पशुमा रोग सङ्क्रमण बढ्न दिँदैन । उपचार गरेर सङ्क्रमित पशुलाई जोगाउन सकिने उनको भनाइ थियो ।
भेटेनरी अस्पतालमा आफ्नो गाई उपचार गराउन आएका रामग्राम–६ पोखरापालिका किसान विरेन्द्र सहानीले एक सातादेखि यस्तो लक्षण देखिएको सुनाए । गाईले खान पिउन छाडेपछि अस्पताल लिएर आएको हो, उनले भने, गाउँमै घुम्ने पशु स्वास्थ्यकर्मीले खोप लगाउन पाँच सय रुपियाँ मागे, तर त्यो पनि नभएर अस्पतालमा उपचारका लागि ल्याएको हो ।
बाहिर उपचार पनि महँगो छ, उनले भने, यसका लागि सरकारले नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाई दिनुपर्छ । पशुमा लम्पी स्किलको प्रकोप देखिएको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले यसमा स्थानीय तहका पशु सेवा शाखा सक्रिय हुनुपर्ने बताए ।
तर स्थानीय तहका पशु सेवा शाखा नै निष्क्रिय जस्तो देखिन्छ, उनले भने, अस्पतालले तँ बिरामी पशुको उपचार गर्ने र विज्ञको अवश्यकता पर्ने स्थानमा पशु चिकित्सक पु¥याउने हो, तर गाउँमा खोज पडताल, पहिचान गरी उपचार तथा रोकथामका कार्यक्रम स्थानीय सरकारले नै गर्नु पर्ने हो । यता प्रतापपुर १ सेमरीका किसान भवानीशंकर यादवले पनि गाउँभरि त्यस्ता सङ्क्रमण देखिएको सुनाएका थिए ।
त्यसमा स्थानीय सरकार गम्भीर भए जस्तो देखिएका छैनन्, उनले थपे,–‘किसान के गर्न सक्छन्,गर्ने सरकारले नै हो । देशका अर्थतन्त्रमा योगदान पु¥याउने किसान नै भए पनि सरकार किसान प्रति नै उदासीन देखिने गरेको आरोप स्थानीयको रहेको छ । विज्ञ केन्द्रका अनुसार जिल्लामा ४४ हजार ९ सय ७८ वटा गाई र बाच्छाबाच्छी र ३८ हजार ५ सय भैंसी र पाडापाडी रहेको तथ्याङ्क छ ।
५० प्रतिशत पशु बयस्क नै हुन्छन् । बयस्क भंैसीको मूल्य हाल करिब एक लाख रहेको छ । यसरी जिल्लामा १ अबै ७० करोड मूल्यका भैंसी छन् । गाईमा पनि झण्डै दुई अर्बकै भएको अनुमान विज्ञ केन्द्रको रहेको छ । दुई वर्ष पहिला पनि लम्पी स्किन रोगकै कारण ७ हजार भन्दा बढी पशु मरेका थिए । त्यो बेला नवलपरासीमा सङ्क्रमित पशु मध्ये ५ प्रतिशत मात्र ३६ वटा पशु मरेका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको सक्रियतामा जिल्लाका अधिकांश सङ्क्रमित पशु जोगाउन सफल रहेको केन्द्रले जनाएको थियो । भारतसँग खुल्ला सिमाले पनि नेपाली किसानलाई प्रभावित बनाउने गरेको केन्द्रले जनाएको छ । दुई वर्ष पहिला सबै पशुलाई खोप लगाइएको थियो । खोप लागेका पशुमा सङ्क्रमण देखिएको छैन ।
नयाँ पशुमा मात्रै यस्को सङ्क्रमण भएको देखिएको छ । भारतबाट आउने पशुबाट पुनः आएको हुन सक्ने भनाई पशु चिकित्सकहरूको रहेको छ । खुल्ला सिमाले पशुको चोरी तस्करी पनि हुने गर्छ, जुन पशुको क्वारेनटाइन परीक्षण पनि हुदैन् । त्यस्तै पशु मार्फत सङ्क्रमित पशु नेपाल भित्र आउने र एउटाबाट आर्कोमा सङ्क्रमण फैलाउने चुनौती रहेको छ ।
यसले गर्दा बर्षेनी लम्पी स्किनको खोप कार्यक्रम बनाई सबै पशुमा लगाउनु पर्ने देखिएको छ । जुन दुई बर्षसम्म खोप नै नलगाउँदा यस्तो सङ्क्रमण बढ्दै गएको पशु चिकित्सकहरूले स्वीकार गरेका छन् ।
स्थानीय सरकार किसानलाई औजार उपकरण दिने कार्यलाई मात्र प्राथमिकतामा राखेर काम गर्दै आएको छ, एक चिकित्सकले भने, तर खोप अभियान, पशु स्वास्थ्य शिविर जस्ता कार्यलाई कम प्राथमिकतामा राख्ने गर्दा रोगको सङ्क्रमण देखिनु स्वाभाविक छ ।