© 2026
काठमाडौँ, २२ साउन ।
नेकपा एमालेका शीर्ष नेताहरूले विधान महाधिवेशन स्थल गोदावरी सनराईज हलको निरीक्षण गरेका छन् । एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरूले महाधिवेशन स्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन आगामी जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदै छ ।
सोही क्रममा आज बिहान कार्यबहाक अध्यक्ष पोखरेल, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीलगायतका नेताहरूले महाधिवेशन स्थल निरीक्षण गरेका हुन ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा रहनुभएकोले हाल एमालेको कामको नेतृत्व कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । महासचिव शङ्कर पोखरेलले महाधिवेशन तयारीको कामलाई तीव्रता दिन व्यवस्थापनमा खटिएका टिमलाई निर्देशन दिए ।
एमालेले आफ्नो विधान महाधिवेशनलाई जेनजी पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरी हलको डिजाइन गर्ने बताएको छ । प्रविधिको प्रयोगमा सवैभन्दा अगाडि रहेको एमाले यो महाधिवेशनबाट व्यवहारमा त्यसलाई सिद्ध गर्ने योजनाका साथ काम थालेको छ ।