तुर्कमेनिस्तान ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनालाई आत्मसात् गर्दै नेपालले छिमेकी र अन्तर्राष्ट्रिय साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन अन्तर्गत बिहीबार आयोजित ‘दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई साकार पार्नका लागि दिगो पूर्वाधार र सबल सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
उनले सीमापार सम्पर्क विस्तार तथा सुदृढीकरणमार्फत सहज र निर्बाध पारवहन तथा व्यापार सुनिश्चित गर्ने नेपाल सरकारको नीति प्रष्ट पारे। “आवाजा कार्ययोजनामा समावेश नीति र कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन्,” उनले भने, “यी प्रावधानलाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्वव्यापी रूपमा जोड्न हामी प्रतिबद्ध छौँ।”
प्रधानमन्त्री ओलीले समता, समावेशीकरण र साझा प्रगतिका लागि पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिट अपरिहार्य भएकाले कुनै पनि देश यसमा पछाडि नपरोस् भन्ने लक्ष्यका साथ सहकार्य आवश्यक रहेकोमा जोड दिए।
सम्बोधनको अन्त्यमा उनले सम्पूर्ण सहभागी राष्ट्रहरूलाई भूपरिवेष्टित मुलुकहरूको साझा भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।उक्त सम्मेलनसँग सम्बन्धित कार्यक्रमहरू आज सम्पन्न हुँदैछन्।




