© २०२३
काठमाडौँ ।
नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा उल्लेख्य सुधार गर्दै १३ स्थानको फड्को मारेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औँ स्थानमा थियो।
नेपालले हालै सम्पन्न एएफसी छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो। लाओसलाई ९–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको नेपाल टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो। यिनै नतिजाका आधारमा नेपालले १२४८.८९ अंक प्राप्त गर्दै वरीयता सुधार गर्न सफल भएको हो।
दक्षिण एसियाली मुलुकहरूमध्ये भारतले पनि सात स्थान सुधार गर्दै ६३औँ स्थानमा स्थान बनाएको छ। बंगलादेशले २४ स्थानको सुधार गर्दै १०४औँ स्थानमा उक्लिएको छ। पाकिस्तान तीन स्थान उक्लिँदै १५४औँ स्थानमा पुगेको छ भने भुटानले आठ स्थान सुधार गर्दै १६३औँ स्थानमा उक्लिएको छ। श्रीलंका भने दुई स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेन यथावत् कायम छ। एक स्थान तल झरेको अमेरिका दोस्रो स्थानमा छ भने तीन स्थान सुधार गर्दै स्वीडेन तेस्रो स्थानमा उक्लिएको छ। इङल्यान्ड एक स्थान उक्लिँदै चौथोमा पुगेको छ। दुई स्थान तल झरेको जर्मनी पाँचौँ स्थानमा छ। फ्रान्सले चार स्थान सुधार गर्दै छैटौँ स्थानमा स्थान बनाएको छ भने ब्राजिल तीन स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ।