© २०२३
दाङ ,२२ साउन ।
घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको हो ।
च्याम्पियन सिपको उद्घाटन नेपाल हाप्किडो महासंघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीले गर्दै नेपालमा हाप्किडो खेल र खेलाडीको क्षमता विकासका लागि विभिन्न समया हुने प्रतियोगिताले महत्वपूर्ण सहयोग पूराएको बताए । खेल क्षेत्रले मानिसलाई शारिरीक रुपमा स्वस्थ्य र अनुशासनसँगै योग्य र दक्ष बनाउन सघाउने भन्दै घर्तीले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहबाट खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
पछिल्लो समय हाप्किडो खेलप्रति आकर्षण बढ्दै गएको भन्दै उनले खेलका माध्यमबाट व्यक्ति र राष्ट्र चिनाउने गरी खेलकुदका गतिविधि संचालन हुन आवश्यक रहेको बताए । शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ६० बढी विद्यालय तथा डोजाङबाट पाँच सय बढी खेलाडीको सहभागिता रहेको हाप्किडो संघ दाङका अध्यक्ष महेश गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताले प्रतियोगिता जीत हार मात्रै नभई खेलाडीको खेल क्षमता निखार्ने माध्यम भएको भन्दै खेलाडीलाई निर्धक्कसँग खेल्न आग्रह गरे ।
उमेर समुहअन्तरगत पाँच वटा उमेर समुहमा प्रतिष्पर्धा हुनेछ । जसमा चिल्ड्रेन ‘ए’ मा ६–८ वर्ष उमेर समूह, चिल्ड्रेन ‘बी’ मा ९–११ वर्ष उमेर समुह, क्याडेट ग्रुप मा १२–१४ वर्ष उमेर समूह, जुनियर १५–१७ वर्ष उमेर समूह र सिनियरमा १८ वर्षमाथिका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । बेल्ट अनुसार सेतो, पहेँलो, खैरो, रातो र कालो बेल्ट समूह गरी पाँच समुहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा युनिटी डोजाङ पनौराका खेलाडीले डेमो प्रस्तुत गरेका थिए ।