© 2026
बुटवल, २२ साउन।
विश्वभर मेशिनरी लुब्रिकेन्ट्स र बेयरिङ उत्पादन गर्ने कम्पनी एआरबी लुब्रिकेन्ट्सले बुटवलमा डिलर्स तथा मेकानिक्स मिट सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका महाप्रबन्धक तथा सेल्स एण्ड मार्केटिङ प्रमुख जीएस बसिमले एआरबीका उत्पादनबारे जानकारी दिए।
कम्पनीको इतिहास र अन्तर्राष्ट्रिय बजारमा यसको उपस्थितिबारे बताउँदै उनले एआरबीले सन् १९९९ मा बेयरिङ उत्पादनबाट व्यवसाय सुरु गरेको जनाए। “हालसम्म कम्पनीले ८० भन्दा बढी देशमा कारोबार विस्तार गरिसकेको छ,” – बसिमले भने।
दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनदेखि विविध मेशिनरीसम्म प्रयोग हुने बेयरिङ, ग्रिस र गत तीन वर्षदेखि मोबिल उत्पादन र बजारीकरण गर्दै आएको उनले बताए। विश्वका थुप्रै मेशिनरी ब्रान्डहरूमा एआरबीका उत्पादन प्रयोग हुने दाबी पनि उनले गरे। नेपालमा काठमाडौं र विराटनगरपछि बुटवल एक महत्वपूर्ण बजारका रूपमा रहेको उल्लेख गर्दै बुटवल क्षेत्रको आधिकारिक वितरक वेष्टर्न नेपाल इन्टरप्राइजेज रहेको जानकारी दिए।
नयाँ दिल्लीस्थित मुख्यालयबाट कम्पनीले हाल वार्षिक २४ मिलियन युनिट उत्पादन गर्दै आएको र आगामी वर्षसम्म यो संख्या ३० मिलियन पुर्याउने लक्ष्य रहेको पनि उनले खुलाए।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलमले कार्यक्रम उद्घाटन गर्दै मेशिनरी सामग्रीमा गुणस्तर अत्यन्त महत्वपूर्ण हुने बताए। ग्राहकको फिडब्याक सुन्ने यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्दै उनले एआरबीले बुटवलको मुटु अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरेर सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताए।
बुटवल अटो एसोसिएसन एण्ड इन्जिनियरिङका अध्यक्ष प्रेम गौचनले विगतमा एआरबीप्रति केही नकारात्मक धारणा भए पनि अहिले कम्पनीले उपभोक्ताको विश्वास जित्न सफल भएको बताए।
अनुभवी मेकानिक्स विजय खनालले आफू दीर्घकालदेखि एआरबीका बेयरिङ र लुब्रिकेन्ट प्रयोग गर्दै आएको अनुभव सुनाए।
कार्यक्रममा नाडा लुम्बिनी उपाध्यक्ष रोशन पाण्डे, अटो व्यवसायी बाबुराम आचार्य, वेष्टर्न नेपाल इन्टरप्राइजेजका अध्यक्ष भुवन भण्डारी, सञ्चालक सुरज पाण्डे र अशेष भण्डारीले पनि गुणस्तरीय उत्पादनकै कारण एआरबीको बजारमा माग दिनप्रतिदिन बढिरहेको बताएका थिए।