© २०२३
लमही , २१ साउन ।
दाङमा प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ वर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनले आफ्नी सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिइन ।
उनी फरार रहे पनि अदालतले १० वर्ष कैद सजाय उहिबेला तोकेको थियो । उनले आफ्नो श्रीमानको जेठी श्रीमती बाटका छोरा ९ वर्षीय शरद शर्माको हत्या गरेकी थिइन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
फरार शर्मालाई प्रहरीले खोजी गर्दै जाँदा काठमाडौँमा लुकीछिपी बसेको सूचना पाएको थियो । इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी काठमाडौँ नै पुगेर पक्राउ गरि ल्याएको गढवा प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए ।
२०८२ साल साउन २० गते बिहान साढे ८ बजे फरार शर्मालाई काठमाडौँ महानगरपालिका वडा नम्बर-२६ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मा सँग काठमाडौँ महानगरपालिका-९ गोंगबुमा बस्दै आएको खुलेको छ ।
उनी लुकिछिपी दाङ-काठमाडौँ आउजाउ गरिरहने सूचना पाएपछि प्रहरी काठमाडौँ नै पुगेको हो । इलाका प्रहरी कार्यालय गढवाको कार्य क्षेत्र भित्र कुनै पनि अपराधका घटनाहरू हुन नदिन र भएकाहरूको फाइल रेकर्ड खोजेर कानुनी दायरामा ल्याउने गरि काम तीव्र भईहेको प्रहरी प्रमुख बमले बताए ।