© २०२३
बर्दिया, २१ साउन ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्वर ५ मा अहिले थारू महिलाहरू माछा मार्ने कार्यमा व्यस्त भएका छन् । धान रोपाइँको चटारो सकिएपछि केही दिनको फुर्सदको समय पाएका उनीहरू परम्परागत तरिकाले माछा मार्दै गाउँकै खोला, ताल र दलदली क्षेत्रमा रमाइरहेका छन् । यस गाउँका अधिकांश महिला किसानहरू हुन् ।
असार महिनाको झरीमा खेतमा धान रोप्ने व्यस्तता सकिएपछि साउन लागेसँगै थारू महिलाहरूलाई माछा मार्ने पुरानो चलन अनुरूप ताल, खाल्डो, कुलो र खोल्सामा माछा मार्ने गतिविधि सुरु हुन्छ । यो गतिविधि उनीहरूका लागि मात्र खाना जुटाउने माध्यम होइन, आपसी मेलमिलाप, रमाइलो र संस्कृतिको अभिन्न अंश पनि हो ।
‘स्थानीय ४५ वर्षीया लक्ष्मी थारु बताउँछिन्,’ रोपाइँ सकिएपछि केही दिन खेतमा कामको चाप हुने भएकाले हामी महिलाहरू बिहानबिहानै माछा मार्न निस्कन्छौं । यो हाम्रो संस्कार जस्तै हो । आमा हँुदा पनि हामीले हेरेका हौँ । माछा मार्न जानु भनेको रमाइलो पनि हो, खानाको जोहो पनि हो ।” उनका अनुसार महिलाहरू समूहमा माछा मार्न निस्कने गर्छन् ।
बिहान साढे पाँच बजे नै लाठी, डोरी, टोकरी, ट्याकटी, हेल्का डिलिया र डुमा लिएर उनीहरू कुलो, ताल र खोला किनार पुग्छन् । तालमा पानी कम भएसँगै माछा फसाउने अवसर पनि बढ्ने भएकाले अहिले उत्तम समय मानिन्छ । उनकी साथी ३२ वर्षीया सुष्मा थारुका अनुसार माछा मार्ने कार्यमा अनुभव आवश्यक हुन्छ ।
उनी भन्छिन्, ‘हामीले माछा मार्न सिक्न आमाबाटै सुरु गरेका हौं । कुन ठाउँमा माछा बढी हुन्छ, कुन औजार कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरामा बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीँ एउटै झाडीमा चार–पाँच किलोसम्म माछा फस्छ ।’ सुष्माका अनुसार उनीहरूले प्रयोग गर्ने औजार परम्परागत रूपमा बनाइन्छन् ।
जस्तै, डुमा (बाँसको पिंजडाजस्तो बनाइएको माछा थुन्ने उपकरण), ट्याकटी (दुई छेउमा जाल जस्तो हुन्छ), ढँप (पानीमा माछा फसाउने घेरा), ( हेल्का, डिलिया) जाली आदि घरमै तयार पारिन्छ । यी महिलाहरू माछा मारेर केही गाउँमै बिक्री गर्छन् भने केही घरमै पकाएर खान्छन् । केही महिला त माछा सुकाएर राख्छन् र लामो समयसम्म उपयोग गर्छन् ।
उनीहरूका लागि यो पारिवारिक सन्तुलन राख्ने, अतिरिक्त आम्दानी गर्ने र समुदायसँग मेलमिलाप गर्ने राम्रो अवसर हो । २० वर्षीया कविता थारु जो हालै विवाह गरेर गाउँमा आएकी हुन्, माछा मार्न पहिलो पटक निस्किएको बताउँछिन् । उनी भन्छिन्, “पहिला त मलाई माछा मार्न डर लाग्थ्यो । तर सासू–आमाले सिकाइदिईन । अहिले त मजा लाग्न थालेको छ ।
हामी पाँच जना मिलेर हिजो मात्रै झण्डै पाँच किलो माछा मा¥यौं,” कविता भन्छिन्, “माछा मारेर गाउँमै बेचेको पैसाले बच्चाको लागि कपडा किनिन्छ, कहिलेकाहीँ त बजारको सामान पनि किनिन्छ । यो सस्तो आम्दानीको स्रोत पनि हो ।” माछा मार्न जानु उनीहरूका लागि केवल काम मात्रै होइन, आपसी सम्वाद र मेलमिलापको माध्यम पनि हो । महिलाहरू खोला किनारमा गफिँदै, गीत गाउँदै, हास्दै रमाउँछन् । कतिपय स्थानमा त महिलाहरू माछा मार्दै पारम्परिक थारू गीत पनि गाउने गर्छन् ।
‘बढैयाताल गाउँपालिका ताल, कुलो र खोला प्रशस्त रहेको क्षेत्र हो । विशेषतः वडा नं. ५ मा रहेको बढैयाताल, कोइलही नाला, थारूहट क्षेत्रका दलदली भागहरू, खेतीयोग्य तर पानीजम्ने ठाउँहरू माछा मार्नका लागि उपयुक्त मानिन्छ । गाउँमा वर्षायामको समयमा पानी भरिएर प्राकृतिक माछाको प्रजनन सहज हुने भएकाले महिलाहरू साउन महिनामा माछा मार्ने कार्यमा बढी सक्रिय हुने गरेका छन् ।
साना ताल र कुलोहरूमा पानी घट्न थालेपछि माछा झाडीमा थुनिन्छ र फसाउन सजिलो हुन्छ । ‘स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष तुला राम थारुका अनुसार, ‘हामीले गाउँमा माछा मार्ने महिलाहरूको कला संरक्षण गर्न तालिमको योजना बनाएका छौं । यसले स्थानीय आयआर्जनमा मद्दत गर्नेछ । साथै, महिलाहरूको सशक्तीकरणमा पनि सघाउ पुग्नेछ ।’
थारू समुदायमा माछा मार्ने कार्य महिलाले गर्ने परम्परा लामो समयदेखि चलिआएको छ । यसले उनीहरूको आत्मनिर्भरता बढाएको छ । अहिले त केटा–केटी मिलेर पनि माछा मार्ने क्रम बढ्दै गएको देखिन्छ । गाउँका पुरुषहरू पनि महिलाहरूलाई माछा मार्नमा सहयोगी भूमिका खेलिरहेका हुन्छन् ।
कतिपय अवस्थामा पुरुषहरू माछा समाउन गएका महिलाहरूलाई झोला बोकेर साथ दिने गर्छन् । यसरी थारू महिलाहरूको माछा मार्ने सीपले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । सीप र श्रमको सहकार्यबाट उत्पादन भएको माछा उनीहरूको घरको भान्सादेखि बजारको थालीसम्म पुग्न थालेको छ ।
स्थानीय पुर्खा गोविन्द चौधरीका अनुसार, ‘यस्ता परम्परागत सीपहरू संरक्षण गरी तालिम, बजार प्रवद्र्धन र सहकारी मार्फत उत्पादनलाई व्यवस्थित गर्न सके स्थानीय स्तरमै राम्रो आयस्रोत बन्न सक्छ ।’ धान रोपाइँ सकिएपछि थारू महिलाहरूको माछा मार्ने परम्परा अहिले पनि जीवन्त देखिन्छ ।
यो केवल एउटा कृषि–सांस्कृतिक अभ्यास मात्र होइन, महिलाहरूको आत्मनिर्भरता, सामाजिक मेलमिलाप र घरको आवश्यकतालाई पूरा गर्ने माध्यम बनेको छ । बढैयाताल गाउँपालिकाका थारू महिलाहरूको माछा मार्ने यो सीप संरक्षण र प्रवद्र्धन गर्न सके उनीहरूको जीवनस्तर उकास्न सकिने स्पष्ट देखिन्छ । यस कार्यलाई स्थानीय सरकार, संघसंस्था तथा समुदायको सहकार्यबाट अझ प्रभावकारी बनाउन सकिन्छ ।