© २०२३
समाचार सारांश
सुनिता गुरुङ ३ वर्षअघि चप्पल बनाउने तालिम लिएपछि उद्यमी बनेकी छन् ।
तालिम सकेपछि सुनिताले ५४ जनालाई चप्पल बनाउने तालिम दिइन् ।
सुनिताको मासिक कारोबार रु. २ देखि २.५ लाख सम्म छ ।
चप्पल बनाउने उद्योग रु. २५,००० जति लगानीमा सुरु गर्न सकिन्छ।
बुटवल, २१ साउन ।
३ वर्ष अघि चप्पल बनाउने तालिम लिएकी सुनिता गुरुङ अहिले उद्यमी बनेकी छिन । बुटवल उपमहानगरपालिका वडा नं. ३ मा आफ्नै घरमा उनी चप्पल बनाउँदै आएकी छिन् । उनी अहिले हाते र मेशिनबाट हवाई चप्पल गरी २ थरीका चप्पल तथा लेडिज जुत्ता उत्पादन गर्दै आइरहेकी छिन् ।
घरमा त्यसै समय बिताउने उनी टोलबाट तालिम माग गरेको स्मरण गर्छिन् । ‘त्यो तालिम नै टर्निङ पोईन्ट भयो,’ उनले भनिन । एक हप्ता तालिम सकेपछि फेरि ५४ जनालाई तालिम दिएको उनी बताउँछिन् ।

ज्योतीनगरकी गृहिणी महिला उनी अहिले उद्यमी र प्रशिक्षकको पहिचान बनाएकी छिन् । एक जनालाई रोजगार समेत दिएकी छिन् । पछिल्लो समयको माग अनुसार चप्पल उत्पादन गर्न मेशिन ल्याएको उनी बताउँछिन् । ‘बजारमा राम्रो माग छ,’ उनले भनिन् ।
आफ्नै पसल र हाट बजारका केही पसलमा उनको चप्पल बिक्री हुन्छ । मासिक दुई देखि ढाई लाख रुपैयाँको कारोबार उनी गर्छिन् ।
केही वर्ष पहिले तालिम लिएकी नहरपुरकी लक्ष्मी राना अहिले आफै चप्पल बनाउने तालिम दिन थालेकी छिन । मगर महिलाको अगुवाइमा स्थानीय सरकारबाट दिइएको तालिममा उनी सहभागी भएकी थिइन ।
अहिले उनी आफै उद्यमी पनि हुन । आफूले सिकेको सीप उनले अरूलाई पनि सिकाउँदै छिन । सामान्यतया एउटा चप्पल बनाउन ढाई सय देखि ३ सय रुपैयाँ लागत लाग्छ । थप बनाउने मेहनत लाग्ने छ । राम्रो हात बसेपछि एक दिनमा पाँच जोरसम्म बनाउन सकिने उनी बताउँछिन् । बजारमा अहिले यो चप्पलको फेशन र आकर्षण रहेको उनी बताउँछिन् । ‘

सस्तो, लगाउन सहज हुने हुँदा हातले बनाएका चप्पल भाइरल हुँदै गएको छ,’–उनले भनिन । चप्पल बनाउन कपडा, सोलुसन, रबरसिट जस्ता कच्चा पदार्थहरू बजारमा सहजै उपलब्ध हुन्छ । अहिले तालिममा उनी कोलापुरी, एकफित्ते, दुई फित्ते लगायतका पाँच थरिका चप्पल बनाउन सिकाउदैछिन ।
एउटा सिकाई मेशिन, रबर सिट, कपडाहरू, स्टोनहरू लगायत न्यूनतम २५ हजार रुपैयाँ लागतमा उद्यम सुरु गर्न सकिन्छ । चप्पलको नाप र साइज सही बनाउनुपर्ने हुँदा पढाई लेखाई पनि जरुरी रहने उनको तर्क छ ।
नहरपुरका मन बहादुर सलामी मगर मंगलबार बुटवलमा कोलापुरी चप्पल बनाउँदै गरेका भेटिए । कागजमा कोरेको चप्पलको चित्र हेर्दै उनी चप्पलको फित्ता काट्दै थिए । २३ जना महिलाहरूको बिचमा उनी चप्पल बनाउन सिक्दै थिए ।
रातो कपडामा सुलेसन लगाउँदै गरेका उनी सीप सिक्न पाउँदा धेरै खुशी थिए । भारतिय आर्मीमा सेवानिर्वित्त भएर दुई वर्षअघि घर फर्किएका हुन । नहरपुर घरमा फर्किएका उनी घरमा बसेर सानोतिनो व्यवसाय गर्ने भन्ने सोचमा थिए ।
यस्तोमा बुटवलमा चप्पल बनाउने तालिम दिने बारे थाहा पाए । उनी त्यो तालिममा सहभागी भएका हुन । एउटा चप्पलको आकार दिँदै गरेका उनी घरमै चप्पल बनाउने उद्योग खोल्ने सोचमा छन् । ‘थप तालिम लिएर म यसैमा लाग्छु ।’–उनले भने ।
लामो समय लाहुरमा समय बिताएका उनी अब घर परिवारसँग बसेर व्यवसाय गर्ने सोचमा छन् । उनी आफ्नो श्रीमतीसहित तालिम लिदैछन । थोरै लगानीमा व्यवसाय गर्न चाहेका उनलाई तालिम धेरै उपयोगी लागेको छ ।
अहिले २४ जना सहकारीका शेयर सदस्यहरूलाई तालिम दिइएका छन् । शेयर सदस्यहरूलाई आयआर्जनमा जोड्ने गरी तालिम चलाउँदै आएको कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बेन प्रसाद थापाले बताए ।
थाक्कलको हस्तकलाका सामग्रीहरू बनाउने तालिम समेत चलाएको छ । बुटवलको प्रदर्शनीमा उत्कृष्ट स्टलका रूपमा पुरस्कृत भएको उनले बताए । कार्यक्रममा संयोजक गुमा कुमारी सिजालीले यस पटक तालिममा सहभागी धेरै हुँदा ३ चरणमा चलाउने तयारी गरेको बताइन ।
बुटवलको तालिम सकेपछि चरङे र भलबारी क्षेत्रका दुई समूहलाई थप तालिम दिने तयारी रहेको उनले बताइन । बुटवल उपमहानगरपालिकाले पनि नगरप्रमुख महिला गृहिणी स्वरोजगार, उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तर्गत यो वर्ष सात सय बढीलाई तालिम दिएको छ ।
यसै गरी नगरप्रमुख युवा प्रोत्साहन तालिम, लक्षित क्षेत्रहरूको सीप विकास तालिम, इन्स्योर परियोजना लगायतका धेरै तालिमहरू चलाउँदै आएको छ । कार्यक्रम अन्तरगत हप्तादेखि महिना दिनसम्मका बटुवाधुप, चुरा पोते टिका, जुत्ता चप्पल मखमली चप्पल, डल्लो साबुन, सरफ, हारपिक, फिनेल बनाउने, बर्थडे केक बेकरी, उनको स्वीटर बनाउने तालिम ५९१ जनाले लिएका छन् ।
यसै गरी महिला उद्यम विकास कार्यक्रम अन्तरगत आधारभूत ब्युटिसियन, ज्येष्ठ नागरिक केयर गीभर, एडभान्स सिलाई कटाई, एडभान्स फेशन डिजाइन, मन्टेश्वरी विधिमा आधारित पूर्व बाल विकास सहजकर्ता तालिममा १५१ जनाले तालिम लिएका छन् ।