© २०२३
बर्दिया, २१ साउन ।
बर्दियामा गोहीको आक्रमणमा परि एक जना बेपत्ता भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ स्थित मध्यवर्ती क्षेत्रमा अवस्थित कर्णाली नदीको भंगालो खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक जना युवा बेपत्ता भएका छन् ।
मङ्गलवार दिउँसो ५ बज खोलामा पौडी खेल्ने क्रममा मधुवन नगरपालिका वडा नम्बर १ सूर्य पटुवाको लालझाडी बस्ने १९ वर्षीय रूप मिलन थारु बेपत्ता भएका हुन् ।
खोलामा उनीसहित पौडी खेल्न ३ जना गएका थिए । पौडी खेलिरहेको अवस्थामा अचानक गोहीले आक्रमण गरेको प्रत्यक्षदर्शी गणेश प्रसाद आचार्य र तिदुराम थारुले बताए । भर्खर आएको नतिजा अनुसार उनी १२ कक्षामा श्री त्रिभुवन माध्यमिक विद्यालयबाट उर्तिण गरेका थिए । उनीहरू मधुवन नगरपालिकाका वडा नं मा रहेको स्कुलबाट उत्तीर्ण भएका थिए ।
थारुको खोजी गर्न नेपाल प्रहरी, नेपाली सेना जबर जङ्ग गण, स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती समेत प्रयोग गरि राती १० बजेसम्म खोजी कार्य गरिएता पनि बेपत्ता युवा फेला परेका छैनन् । बुधवार बिहानैबाट उनको खोजी कार्य भइरहेको मधुवन नगरपालिका वडा नं १ सूर्य पाटुवाका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिएका छन् ।