ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

मोबाइलले बढाउँदै छ– सन्तान र अभिभावकको दूरी

२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

समयले मानिसलाई धेरै कुरा दिएको छ– सुविधा, सजिलो, र श्रमको बदलामा यन्त्रगत सहायता । तर, यिनै सुविधाहरूको छायाँमा केही मूल्यवान पक्षहरू हराउँदै गएका छन—सम्बन्ध, संवाद र मानवीय संवेदना । मोबाइल, प्रविधिको महान् उपलब्धि तर अहिले हाम्रो समाजको सम्बन्ध–सञ्जालमा दरार ल्याइरहेको छ ।

विशेषतः अभिभावक र सन्तानबीचको सम्बन्धमा मोबाइलको लतले देखाएको असर अब सतही मात्र छैन; यो गहिरो मानसिक, सामाजिक र शैक्षिक चुनौती बनिसकेको छ । कुनै समय थियो, जब बच्चाले “बाबा, यो बुझेको छैन भन्थे, बाबु त्यतिबेला काम रोकेर उसलाई बुझाउने गर्थे । आमाले फुर्सद नभएपनि “पछि सिकाउँछु” भन्ने मायालु स्वरमा सान्त्वना दिन्थिन् ।

सन्तानको जिज्ञासा सधैं अभिभावकको प्राथमिकता हुन्थ्यो । तर अहिले परिस्थिति उल्टिएको छ । बाबुआमाको हात मोबाइलमा छ, आँखा स्क्रिनमा छ र ध्यान कतै अरूको जीवनमा तल्लीन छ । जब बच्चा हातमा किताब लिएर प्रश्नसहित जान्छ, ऊ एक असहज अनुहार देख्छ—“अहिले बोल्न मिल्दैन, म व्यस्त छु” भन्ने संकेत पाउँछ । त्यो स्पष्ट न भए पनि, परोक्षतः भनिएको अस्वीकृति हो । सन्तानले त्यस मौनतालाई उपेक्षाको रूपमा लिन्छ र त्यहीँबाट सुरू हुन्छ दूरीको पहिलो सानो पाइलो ।

यो दूरी समयसँगै बढ्दै जान्छ । बच्चा अब दोहो¥याएर सोध्दैन । ऊ मनको सवाल मनमै राख्छ । कहिलेकाहीँ किताबमा लेखिएको कुरा बुझ्दैन, तर बुझ्न पनि चाहँदैन, किनभने कोही सुन्दैन भन्ने अनुभूति उसमा गहिरो भइसकेको हुन्छ । जब बालबालिकामा यस्ता भावनाहरू मौलाउँछन्, तब उनीहरूले विकल्प खोज्न थाल्छन—र त्यो विकल्प फेरि मोबाइल नै हुन्छ ।

उनीहरू आमा बुबाबाट नपाएको संवाद मोबाइलबाट खोज्छन् । तर त्यो संवाद एकतर्फी हुन्छ—भावनाहीन, संवेदनाविहीन, केवल सूचनात्मक । अभिभावकहरू प्रायः गुनासो गर्छन—“आजकलका बच्चाहरू पढाइमा ध्यान दिँदैनन्,” “पढ्नुभन्दा मोबाइल चलाउँछन् ।” तर के उनीहरूले आत्मनिरीक्षण गरेका छन् ? कहिले उनीहरूले मोबाइलबिनाका केही पल सन्तानसँग बिताएका छन् ? कहिले परिवारभित्र मोबाइल बन्द गरेर एकैसाथ पुस्तक पढ्ने, कविता सुनाउने वा सिर्जनात्मक क्रियाकलाप गर्ने प्रयास गरेका छन् ? सायद थोरैले मात्र । जस्तै स्याहार नपाएको बिरुवा मर्छ, त्यसैगरी माया, समय र साथ नपाएको सम्बन्ध मौन हुँदै जान्छ । त्यो मौनता बोलीको मात्र होइन, भावना, समझदारी र सम्पर्कको मौनता हो ।

आज सन्तानले जब गृहकार्यमा असहजता अनुभव गर्छन् र समाधान खोज्छन्, त्यही अभिभावकहरूको व्यवहारले उनीहरूलाई रोक्दिन्छ । कतिपय अवस्थामा बालकले पढाइमा सघाउन अनुरोध गर्दा अभिभावक उल्टै झर्किन्छन—“अब म बच्चा रहेँ र ? तिमीलाई सधैं पढाएरै गर्नुपर्ने हो ?” कहिलेकाहीँ त थप झोकमा भनिन्छ—“फेरि सुरु भयो ! मोबाइल नभए त तिमी झन्झट दिन्थ्यौ ।” यस्तो व्यवहारले सन्तानको मनमा अपराधबोध जन्माउँछ । “मैले झर्को बनाएको हुँ” भन्ने मनोविज्ञानले उसलाई मौन र आत्मविलोपशील बनाउँछ ।

अनि जब बच्चा आफ्नै जिज्ञासालाई अपराध ठान्न थाल्छ, ऊ सोध्नै छोड्छ । ऊ अब मोबाइललाई शिक्षक ठान्न थाल्छ—र सल्लाह, शिक्षा र उत्तर पनि त्यहीँबाट लिन्छ । तर त्यो शिक्षक संवेदनशील हुँदैन; उसले झन् उसलाई अपरिचित र एक्लो बनाउँदै लैजान्छ । किशोर–किशोरीहरूको मनोविज्ञान अझै जटिल हुन्छ । उनीहरू स्वतन्त्रतामा रमाउने, संवेदनशील र सामाजिक सन्दर्भमा सचेत हुने उमेरमा हुन्छन् । जब उनीहरूले आफ्ना अभिभावकहरूलाई दिनभर स्क्रिनमा मग्न देख्छन्, उनीहरू त्यसलाई जीवनको आदर्श तरिका ठान्न थाल्छन् ।

अनि सुरु हुन्छ अन्धाधुन्ध मोबाइल प्रयोग । उनीहरूको दिनचर्या मोबाइल केन्द्रित हुन्छ । पढाइ पछि पर्छ, संवाद हराउँछ, र सामाजिक सम्बन्धहरू पनि डिजिटल बनिदिन्छन् । अब न त खानाको समयमा कसैसँग आँखा जुध्छ, न त कुनै संवाद साँचो रहन्छ । एउटै कोठामा बसेका परिवारका सदस्यहरू पनि आ–आफ्नै मोबाइलको संसारमा हराइरहेका हुन्छन् । कतिपय अभिभावक सन्तानको व्यवहारमा आएको परिवर्तनप्रति चिन्तित हुन्छन—“अब त ऊ हामीसँग बोल्दैन,” “हामीले भनेको केही सुन्दैन ।”

तर प्रश्न उठ्छ—यी परिवर्तन कहाँबाट आए ? सन्तानले कहिले बोल्न बन्द गरे ? के हामीले समयमै त्यो मौनतालाई सुन्न खोज्यौं ? यदि खोज्यौं भने, के आफैँ बदलियौं ? बहस, गुनासो र नियन्त्रणभन्दा पहिला आवश्यक हुन्छ—सम्बन्धको पुनर्निर्माण । त्यसका लागि चाहिन्छ—साथ, संवाद र समर्पण । मोबाइलले लिएको त्यो समय सन्तानलाई दिनुपर्छ । पन्ध्र मिनेटका लागि भएपनि आँखामा आँखा राखेर संवाद गर्नु आवश्यक छ । सन्तानले देखोस—ऊ आमाबाबाको प्राथमिकतामा पर्छ । विद्यालयको गृहकार्य मात्र होइन, जीवनका अनगिन्ती पाठहरू सन्तानले आफ्ना अभिभावकबाट सिक्छन् । भाषा, शिष्टाचार, व्यवहार, मनोवृत्ति—यी सबै बालापनमै सिकाइने हुन्छ ।

जब उनीहरू एउटै घरमा बस्छन्, तर औपचारिकता बाहेकको सम्बन्ध हराउँछ, तब भावना, भरोसा र न्यानोपन गुम्न थाल्छ । मोबाइलले लिएको ध्यान र समय बालबालिकाको चेतनामा एउटा रिक्तता बनाइदिन्छ । त्यो रिक्तता पूर्ति गर्न उनीहरू सोसल मिडियाबाट प्रेम र स्वीकृति खोज्न थाल्छन् । कहिले साथीसँगको तुलना, कहिले ट्रेन्डको दबाब, कहिले अनलाइन मान्यताको खोजीमा उनीहरू डिजिटल लतमा फस्छन् । बालमनोशास्त्रीहरू भन्छन—“डिजिटल उपकरणहरूले अब अभिभावकको स्थान लिन थालेका छन् ।” जुन स्थान संवेदना र आत्मीयताले भरिएको थियो, त्यो अब  algorithm ले ओगट्न थालेको छ ।

पठनपाठनमा यसको असर झनै गहिरो छ । पढ्न बस्दा ध्यान टिक्दैन । लेख्न खोज्दा विषयवस्तु चाँडै सकिन्छ । किनभने ध्यान, अभ्यास र परिश्रमबाट बन्ने क्षमता अहिले तस्बिर, भिडियो र तीव्र मनोरञ्जनमा बगिरहेको छ । जब पठन प्रक्रियामा मोबाइल मध्यस्थ बन्छ, तब ज्ञान केवल छिटो प्राप्त सूचनाको थाकमा सीमित हुन्छ । पढाइका लागि आवश्यक एकाग्रता मोबाइलको अनगिन्ती व्यवधानले छियाछिया बनाउँछ । त्यसको परिणति—असफलता, आत्मग्लानि र सन्तान– अभिभावकबीचको दूरी । यो दुःखद अवस्था यतिमा सीमित हुँदैन ।

झन गम्भीर अवस्था तब आउँछ, जब दुबै पक्ष—अभिभावक र सन्तान—मोबाइलमा व्यस्त हुन्छन्, तर एकअर्कालाई समय दिन तयार हुँदैनन् । यस्तो अवस्थामा घर एउटै छ, तर मनहरू टाढा छन् । त्यो केवल भौतिक दूरी होइन, भावनात्मक दूरी हो—मनोविज्ञानको पर्खाल, जुन एकपटक बनेपछि भत्काउन कठिन हुन्छ ।

समाधान भनेको केवल मोबाइल हटाउनु होइन । समाधान हो—सम्बन्धमा फेरि ऊर्जा हाल्नु । संवाद गर्नुपर्ने बेला मोबाइल एकातिर राख्नु । बिहानको चिया सँगै गफ गर्न थाल्नु । साँझको खाना साथमा खानु । सन्तानको गृहकार्यमा भाग लिने प्रयास गर्नु । उनीहरूको अनुभूति सुन्ने फुर्सद निकाल्नु । केवल सम्झाउनु होइन, महसुस गराउनु—“तिमी हाम्रो लागि महत्त्वपूर्ण हौं ।”

मोबाइल प्रयोगको संस्कार परिवर्तन गर्नुपर्छ । अभिभावक स्वयं अनुकरणीय बन्नुपर्छ । यदि आमाबुबा फेसबुकमा समय खर्च गर्छन् भने सन्तान टिकटकमा रमाउँछ, अनि दुबै एउटै घरको संवाद हराउँछन् । त्यसैले पहिले आफैं उदाहरण बन्न आवश्यक छ । मोबाइल प्रयोगलाई समयबद्ध र उद्देश्यप्रद बनाउनु पर्छ । जब परिवारले सँगै किताब पढ्ने, कुरा गर्ने, वा सृजनात्मक खेल खेल्ने समय निकाल्छ, त्यहीँबाट सुरु हुन्छ सम्बन्धको पुनर्निर्माण ।

अन्त्यमा, मोबाइल जीवनको सहयोगी साधन हो—शत्रु होइन । तर जब यही साधनले मानिसको चेतना र सम्बन्धमाथि नियन्त्रण जमाउन थाल्छ, त्यो बर्बादीको संकेत हो । अभिभावक र सन्तानबीचको सम्बन्ध केवल रगतको सम्बन्ध होइन, त्यो आत्मीयताको पुल हो । त्यो पुल कमजोर भयो भने समाजको नैतिक आधार खलबलिन्छ । आजको पुस्ता मोबाइलबाट निर्देशित होइन, प्रेम, समझदारी र समयबाट निर्देशित हुनुपर्छ । यदि हामीले समयमै सचेतता देखायौं भने, त्यो दूरी फेरि निकटतामा रूपान्तरण हुन सक्छ । होइन भने, हामी केवल नयाँ प्रविधि पछ्याउँदै पुराना सम्बन्धहरूको अस्तित्व गुमाइरहनेछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?