© २०२३
काठमाडौं ।
काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा ऐतिहासिक हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर परम्परागत पोखरी पुनर्निर्माण गरिने भएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबीच भएको शिष्टाचार भेटमा उक्त सहमति बनेको हो।
छलफलको मूल उद्देश्य मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरीको पुनर्निर्माण गर्नु रहेको थियो। भूकम्पले क्षति पुर्याएको प्रहरी भवन रहेको दुई रोपनी क्षेत्रफलमा अब पोखरी निर्माण गरेर त्यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्वलाई पुनर्जीवित गरिनेछ। प्रमुख शाहले भने, “हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्व जोगाउन र परम्परागत अभ्यास कायम राख्न पोखरी निर्माण आवश्यक छ।”
महानिरीक्षक थापाले समेत योजनालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा अन्य केही महत्त्वपूर्ण सहमतिको बिन्दुहरू पनि तय भए, जसमा ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन निर्माण, नगर प्रहरी संरचना सुधार, वडा कार्यालय स्थानान्तरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त स्थानको खोजी समावेश छन्।
सहरी पूर्वाधार विकासको सन्दर्भमा ट्राफिक टावर लगायत आवश्यक संरचनाहरूको लेआउट तयार गर्ने जिम्मेवारी नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई दिइएको छ।
वडा नम्बर २७ को कार्यालय हाल साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवनमा सार्ने विषयमा समेत छलफल भएको छ। साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माणाधीन रहेकाले त्यसपछि स्थानान्तरण प्रक्रिया अघि बढ्ने बताइएको छ।
बैठकमा ट्राफिक व्यवस्थापन, सवारी सुव्यवस्था, सीसीटीभी जडान, बग्गी खाना क्षेत्रको सरकारी जग्गा व्यवस्थापन लगायत सहरी सुरक्षाका विभिन्न पक्षमा समेत समन्वयात्मक रूपमा पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भएको थियो।
प्रमुख शाहले बैठकमा भने, “हाम्रो लक्ष्य सांस्कृतिक सम्पदाको संरक्षण र आधुनिक पूर्वाधार विकास दुवैलाई सन्तुलनमा राखेर नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो।”
उक्त छलफलमा नेपाल प्रहरीका वरिष्ठ अधिकारी, नगर प्रहरी प्रमुख, र इन्जिनियरहरूको समेत उपस्थिति रहेको थियो।