© २०२३
काठमाडौं, २१ साउन ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको संसद् बैठकमा पनि आफ्नो विरोध दोहोर्याएका छन्।
गत जेठ १३ गतेदेखि निरन्तर संसदमा आवाज उठाउँदै आएका यी दुई दलका सांसदहरू आजको बैठकमा पनि उपस्थित भएर आफ्ना धारणा राखेपछि बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्। रास्वपाका सांसद तथा प्रवक्ता मनीष झाले भिसा प्रकरणलाई लिएर सरकार गम्भीर नभएको आरोप लगाए ।
उनले कुलिङ पिरियडका क्रममा देखिएको अनियमितता र त्यसमा सभापति रामहरि खतिवडाको भूमिका प्रश्नमा पर्दा पनि उनी पदमा बसिरहनु अनुचित भएको तर्क प्रस्तुत गरे। झाले भने, “हामीलाई पटक–पटक नैतिकता र नालायकीपनको प्रश्न सोधिन्थ्यो।
अहिले त राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नै नैतिक प्रश्न उठेको छ। यस्ता समाचार आउँदा हामीमाथि नैतिकता खोज्नेहरू अहिले चुप छन्। यस्तो नालायकीपनको जवाफ को दिने?” यता, राप्रपाकी सांसद रोशन कार्कीले आफूहरू आन्दोलनरत रहेको अवस्थामा पनि संसद् सञ्चालन हुनु प्रश्न उठाउने विषय भएको बताइन्। उनले सभामुखप्रति प्रश्न गर्दै भनिन्, “सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति?”
दुवै दलका सांसदहरूले संसद्को मर्यादा र उत्तरदायित्वको सवालमा सरकार र सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको मागसँगै उनीहरूको विरोध अझै केही दिन संसद् अवरुद्ध गर्ने संकेत दिइरहेको छ।