© २०२३
समाचार सारांश
अनिता भुसाल, कल्पना जिसी, र रहिमा खातुनले मिलेर “मिलीजुली महिला लघु उद्यम” स्थापना गरे ।
शिवराज नगरपालिका वडा नं. ३ को सहयोगमा ७ दिने फिनेल, हर्पिक बनाउने तालिम लिएको आधारमा उद्यमको सुरुवात ।
सिकेको सीपलाई प्रयोग गर्दै फुर्सदको समयको सदुपयोग र आत्मनिर्भरता प्राप्त गर्ने लक्ष्य ।
चन्द्रौटा, २१ साउन ।
सधैँ झैँ घरायसी काम सकेर तीन जना दिदीबहिनीहरू सानो कोठामा भेला हुन्छन् । कोही फिनेलको बोतल भर्छन्, कोही हर्पिकको लेबल टाँस्छन् त कोही हिसाबकिताब मिलाउँछन् । उनीहरूको अनुहारमा देखिन्छ–आत्मविश्वास, ताजगी र आत्मनिर्भरताको चमक ।
यी हुन, अनिता भुसाल, कल्पना जिसी र रहिमा खातुन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ की ती महिलाहरू, जसले सीपलाई मात्रै होइन, स्वरोजगारको सम्भावनालाई जीवनमा समेत रूपान्तरण गरेका छन् ।
“शिवराज नगरपालिका वडा नम्बर–३ को सहयोगबाट ७ दिने फिनेल, हर्पिक बनाउने तालिम सिक्यौँ । सिकेका सीप र फुर्सदको समयलाई सदुपयोग गर्नुपर्छ भनेर स्थानीय तीन जना दिदीबहिनी मिलेर मिलीजुली महिला लघु उद्यम खोलेका छौँ” । सञ्चालक अनिता भुसालले भनिन् ।
फिनेल, हर्पिक, कुलिन, हेन्डवास, सर्फ लगायत ८ वटा वस्तुहरू उत्पादन गर्ने गरेको उनले बताइन् । काठमाडौँ, पोखरा लगायत स्थानबाट गाडीका गाडी ल्याएर स्थानीय बजारका व्यवसायीहरूलाई दिँदा आफूले उत्पादन गरेका वस्तुहरू बजार भाउ नपाएको भुसालले गुनासो गरिन् ।
खुल्ला सिमाना भएका कारणले चुनौती रहेको बताउँदै उपभोक्ताका अनुसार बाहिरबाट आएको वस्तुको गुणस्तर कमजोर भएको स्थानीय उत्पादन प्रभावकारी रहेको उनको दाबी छ । भुसाल भन्छिन्– “सीप सिकेपछि थन्काएर राख्ने होइन, चलाउने हो ।
हामीले चलायौँ – आफ्नै स्वरोजगारको बाटो ।” हातले उत्पादन गर्दा बढी समय र पैसा खर्चिलो भएको हुनाले सरकारले सहयोग गरे मेशिनबाट उत्पादन गरेर स्थानीय महिलाहरूलाई रोजगारी र आम्दानीसँग जोड्दै व्यावसायीक रूपमा अघि बढ्ने उनीहरूको योजना छ ।
अर्की सञ्चालक कल्पना जिसीले खरेन्द्रपुरमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्थाले आत्मनिर्भर हुनुपर्छ भनेर तालिम प्रदान गरेको बताइन् । “३५ जनाले तालिम सिकेका थियौँ । जसमध्ये तालिम सिकेर मात्रै हुँदैन, हामीले आफै आत्मनिर्भर हुनुपर्छ भनेर लागेका थियौँ ।
जसको स्वरूप आज मिलीजुली लघु उद्यम सञ्चालन गरेको छौँ । घरायसी काम सकाएर खाली समयको सदुपयोग गर्दै आत्मनिर्भर हुनाका लागि सिकेको तालिमले आज रोजगारी आम्दानीको आधार बनेको छ”- उनी भन्छिन् । उक्त तालिम सकेपछि धेरै जना फर्किए – फेरि आ–आफ्ना दैनिकीमा ।
तर यी तीन महिलाहरूले भने केही फरक गर्ने अठोट गरेको जिसीले अनुभव सुनाइन् ।यस्तै अर्की सञ्चालिका रहिमा खातुनले आफूहरूले उत्पादन गरेका वस्तुहरू बिक्रीका लागि स्थानीय हाटबजार समेत लैजाने गरेको बताइन् । आफै सीप सिकेर स्वरोजगारसँगै आत्मनिर्भर हुन पाउँदा हर्ष व्यक्त गरिन् ।
सस्तो मूल्यमा आयातित वस्तुले बजार कब्जा गर्दा पनि उनीहरूले हरेस खाएनन् । “बजार सजिलो छैन, तर उपभोक्ताको विश्वास जितेका छौँ,”–रहिमा खातुन सुनाउँछिन् । “मासिक करिब ४० हजारसम्म कमाइ छ ।” उनले थपिन्– “आत्मनिर्भर हुँदा गर्व महसुस भएको छ । मनग्ये आम्दानी गरिरहेका छौँ ।”
खातुनले भनिन् – खुल्ला बजारका कारण केही समस्या भए पनि स्थानीय व्यापारीहरूले हाम्रो उत्पादन बेचिरहेका छन् । उपभोक्ताहरूको राम्रो प्रतिक्रिया आएको छ । बिहान घरको भाँडा माझ्ने हातहरू, दिउँसो उद्यम चलाउने बनिसकेका छन् ।
स्थानीय व्यवसायी केशर महतरा क्षेत्रीले स्थानीय दिदीबहिनीहरूले सामूहिक रूपमा गरेको उत्पादन गरेका वस्तुहरू प्रभावकारी रहेको बताए । पहिले बुटवल, काठमाडौँ, पोखराका उद्योगीबाट सामान खरिद गरेको बताउँदै अहिले स्थानीय उत्पादनलाई बढवा दिँदै खरिद बिक्री गरिरहेको उनले बताए ।
बाहिरका उत्पादनभन्दा यो उत्पादनमा गुणस्तर रहेको व्यवसायी क्षेत्रीले जिकिर गरे । यता वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले भने “महिलाहरूले सिकेका सीपलाई सदुपयोग गर्दै रोजगारी र आम्दानीसँग जोड्नु आवश्यक छ । स्वरोजगार भएर आत्मसम्मानका साथ जिउनुपर्छ ।”