© २०२३
गुल्मी, २० साउन ।
लगातारको अविरल वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध भएको छ ।
उक्त सडक अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित फलाटे भन्दा केही तल रहेको बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन् ।
उक्त सडक अवरुद्ध बनेपछि रुरुको पानी टङ्की साल बिसौना सडक हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिने अध्यक्ष ज्ञवालीले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र ईलाईटद्वारा २५ किलोमिटर सडक फराकिलो बनाउने काम भइरहेको छ ।
त्यसै गरी मंगलबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक केही समय अघिदेखि सुचारु भैसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
विगत तीन दिनदेखि गुल्मी सहित आसपासका क्षेत्रमा निरन्तर रूपमा हल्कादेखि मध्यम रूपमा वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ ।
बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।