© २०२३
जितपुर, २० साउन ।
बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, पिपरामा बिबिए एआई अध्ययन सञ्चालन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता मा.बि. बीच भएको औपचारिक सहकार्यसँगै उक्त कार्यक्रम यसै शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालनमा आउनेछ ।
मंगलबार लुम्बिनी विश्वविद्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, नगर शिक्षा शाखाका प्रतिनिधि, शिक्षक तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सम्झौता अनुसार, बिबिए एआई कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सञ्चालन हुनेछ, भने पठन–पाठनको भौतिक पूर्वाधार जनता माध्यमिक विद्यालयमा हुने छ ।
कार्यक्रममा बोल्दै उपकुलपति बज्राचार्यले विश्वविद्यालयको उद्देश्य स्थानीय शैक्षिक संस्थासँग सहकार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रवाह गर्नु रहेको बताए । उनले स्थानीय स्तरमा रहँदा रहँदै सूचना प्रविधि र व्यवस्थापन क्षेत्रको ज्ञान हासिल गर्न सकिने वातावरण निर्माण गर्नु समयको आवश्यकता भएको उल्लेख गरे ।
नगर प्रमुख अर्यालले यस सहकार्यलाई ‘बाणगंगामै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसर’ को रूपमा व्याख्या गर्दै, यसले बाणगंगाको शैक्षिक उन्नयनमा नयाँ युगको सुरुवात गर्ने बताए ।
शैक्षिक क्षेत्रका विज्ञहरूले बिबिए एआई कार्यक्रम गाउँमै सञ्चालन हुनु स्थानीय विद्यार्थीका लागि ठूलो अवसर भएको बताएका छन् । सूचना प्रविधि र व्यवस्थापनको समायोजनमा आधारित यो अध्ययन कार्यक्रमले बाणगंगाका विद्यार्थीहरूलाई देश–विदेशमा प्रतिस्पर्धी बन्ने तयारी गराउने जनाईएको छ ।