© २०२३
बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती र चरम लापरबाही भइरहेको बेला नारायणगढ–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरिएको छ । तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएको सडक निर्माणका लागि एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद दिइएको हो ।
नारायणगण–बुटवल सडक आयोजनाले अहिले थप गरिएको म्याद अन्तिम पटकका लागि भएको र यो अवधिमा सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरेको छ । थपिएको म्यादभित्र अव निर्माण व्यवसायीले प्रतिबद्धता गरे अनुसार काम गरेमा सडक निर्माणको काम सम्पन्न हुने छ । होइन भने यो सडकले म्याद थपमा इतिहास कायम गर्ने अवस्था आउनेछ ।
आशा गरौँ त्यो अवस्था नआओस् । निर्माण कम्पनीले डेढ वर्ष म्याद थप गर्न चाहेको भए पनि एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने विश्वास दिलाएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ । बुटवल नारायणगढ सडक निर्माण व्यवसायीको चरम लापरबाहीको पराकाष्ठा हो ।
२०७५ साल माघ २४ गते ठेक्का सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साल साउन २२ गतेसम्म सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सर्त थियो । सडक विभागसँग ठेक्का सम्झौता गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ चैतदेखि नै निर्माणको काम सुरु गरेको थियो ।
सडक सुरु गर्दै गर्दा निर्माण व्यवसायीले सडक समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेको थियो तर सडक निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गर्दा लाखौँ यात्रुले सास्ती पाए । साढे तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त सडकको म्याद अहिलेसम्म चार पटक थप गरिएको छ । यसबाट पनि पुष्टि हुन्छ– यो सडक निर्माणमा चरम लापरबाही भएकै हो ।
अव अति भैसकेको छ । सडक आयोजनाले पनि अन्तिम पटक म्याद थप गरिएको भनेको छ । निर्माण पक्षले अबको एक बर्षभित्रैमा निर्माणको सम्पूर्ण काम सम्पन्न गरोस् । सरकारलाई पुनः म्याद थप गर्नुपर्ने अवस्था नआओस् । यद्यपि धेरै काम सम्पन्न भैसकेको अवस्था छ । नारायणगढदेखि बुटवलसम्मको ११३ दशमलव ५३ किलोमिटर लामो यो सडक दाउन्नेखण्ड र पुलहरूको वारिपारी बाहेक अन्य क्षेत्रमा दुईतर्फी नै कालोपत्रे भइसकेको छ ।
दाउन्ने खण्डको १३ किलोमिटर सडकमा अहिले पनि ढलान गर्ने काम भइरहेको छ । अव यही रफ्तारमा काम हुने हो भने अबको एक वर्षमै निर्माणको सबै काम सकिनेछ । तर, त्यसका लागि सडक आयोजनाको ताकेता, अनुगमन, निर्माण व्यवसायीको प्रतिबद्धता सबै तालमेल मिल्नु जरुरी छ । अव निर्माण व्यवसायीले प्रतिबद्धता गरे अनुसार काम गरेमा थपिएको म्यादभित्रै निर्माणको काम सम्पन्न हुने विश्वास सिर्जना भएको छ । अव सो खण्डको करिब १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।
आयोजनाका अनुसार आउँदो बर्खा अगाडि नै करिब करिब सबै काम सम्पन्न हुनेछ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नु परेकाले यो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने योजनामा विराम लागेको छ । तरपनि बर्खापछि यो क्षेत्रमा सडक ढलानको काम सम्पन्न गर्नेतर्फ निर्माण व्यवसायीको ध्यान जाओस् ।
यो सडक खण्डले ढिलै भएपनि केही आशा जगाएको छ । २०७९ साउन अर्थात ती वर्षअघि नै सडक निर्माणको काम सम्पन्न गर्ने गरी काम अघि बढेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा अहिलेसम्म चौथोपटक म्याद थप गर्नुपर्ने अवस्था आउनु दुःखको कुरा हो ।
यो सडकमा भइरहेको निर्माण भएको ढिलाईले नेपालको अरू विकासे आयोजनाको काम कछुवा गतिमा हुने गरेको उदाहरण प्रस्तुत गरेको छ । यो सडकमात्रै होइन, यस्ता धेरै सडक उदाहरण छन् जसको लागत बढाउने नाममा निर्माणमा ढिलाइ हुने गरेको छ ।
बुटवल नारायणगढ सडक खण्डका स्थानीयले पटक पटक दवाव नदिएको भए सडक निर्माणको काम अहिले यो अवस्थामा पुग्ने थिएन । तसर्थ अझैपनि सडक निर्माणको काम सकिदै गर्दा स्थानीय जनताको अनुगमन र खबरदारी जरुरी छ ।