© २०२३
काठमाडौँ, २० साउन ।
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।
नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेश समितिका सभापति बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेका गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त गरेका छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत सुनिश्चित गर्दै उनी छैटौं मुख्यमन्त्रीको रूपमा नियुक्त भएका हुन्।
मकवानपुर निवासी बानियाँ यसअघि संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्ष निर्वाचित सांसद रहेका थिए। पेशाले निर्माण व्यवसायी रहेका उनले कम्युनिस्टको राजनीतिक प्रभाव बलियो मानिएको मकवानपुरबाट जित हासिल गर्ने पहिलो कांग्रेस नेता बन्न सफल भएका थिए।
बानियाँभन्दा अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा क्रमशः बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्। बानियाँ मकवानपुरबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्। यसअघि संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरकै थिए।