सल्यान, २० साउन ।
छोराछोरीसंगै एउटै कक्षामा भर्ना भएर सल्यान त्रिवेणीका ४० बर्षिय भोलाप्रसाद रावतले कक्षा १२ (प्लस टु) उत्तीर्ण गरेका छन् । वि.सं. २०५८ सालमा एसएलसी पास गरेर पढाई छाडेका त्रिवेणी गाउँपालिका वडा नं, ४ फालावाङ निवासी उनलेकरिव २४ वर्षपछि छोराछोरीसंगै कक्षा १२ (प्लस टु) पास गरेका हुन् । भोलाप्रसादले जुम्ल्याहा छोराछोरी १९ वर्षिय संगिता र सागरसंगै १२ कक्षा उत्तिर्ण गरेका हुन् । आफ्नै वडाको रेखमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तीन बाउ छोराछोरीले संगै पढेका थिए ।
हालै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार भोला प्रसादले २.३०, छोरी संगिताले ३.१२ र छोरा सागरले ३.०४ जिपिए ल्याएका छन् । २०५८ सालमा एसएलसी पास गरेपछि गाडी लाईनमा लागेको तर अहिले पढाईको महत्व बुझेपछी छोराछोरीसंगै विद्यालयमा भर्ना भएर परीक्षा दिएको उनले बताए । परिक्षामा पास हुँदा धेरै खुसी लागेको भन्दै भोलाप्रसादले अब ब्याचलर पनि पढेर उत्तिर्ण हुने अठोट गरेका छन् ।
साधारण पृष्ठभूमिका भोलाप्रसाद तत्कालीन समयमा पारिवारिक जिम्मेवारी र आर्थिक अवस्थाका कारण पढाइबाट टाढा भएका थिए । उनले पढ्नलाई उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै उमेर भन्दा इच्छाशक्ति बलियो हुनुपर्छ भन्ने सन्देश दिएका छन् ।