© २०२३
बाँके, २१ साउन ।
रूपा थारुको सपना थियो खेलकुदसँगै डेन्टीस्ट बन्ने । न घाम, न पानी उनी सपना लिएर दौडिन्थिन् । त्यो दौड केवल पदकसम्म सीमित रहेन, जीवन चलाउने आधार बन्यो । अहिले उनी बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पतालका डेन्टल विभागमा डेन्टल असिस्टेन्टका रूपमा कार्यरत छिन् ।
बिहान, साँझ खेती किसानी पनि उनले छाडेकी छैनन् । रूपा थारूको जन्म २०५५ सालतिर बाँकेको एक साधारण किसान परिवारमा भयो । परिवारको आर्थिक अवस्था कमजोेर थियो, तर उनको आत्मबल भने बलियो थियो । उनी बाल्यकालदेखि नै शारीरिक रूपमा सक्रिय थिइन् ।
सानैदेखि दौडधुपमा रुचि राख्थिन् र खेलकुदप्रति आकर्षण बढ्दै गयो । १३ वर्षको उमेरमा उनलाई पहिलो पटक साइकल चलाउने मौका मिल्यो, न त आफ्नै साइकल, न त नयाँ । गाउँकै एउटा स्कुलको साइकल प्रतियोगितामा भाग लिने अनुमति पाइन् ।
त्यो दिन जितिन् पनि प्रथम पुरस्कारको सर्टिफिकेट मात्र होइन, आफ्नो आँटमा विश्वास पनि गर्छिन् । ‘त्यो दिनको खुसी बयान गर्न सक्दिनँ,‘ रूपा सम्झिन्छिन्, ‘जीवनमा पहिलो पटक मैले आफ्नो क्षमता बुझेँ ।’ सन् २०७२ सालदेखि उनले औपचारिक रूपमा साइकलिंग प्रतियोगिताहरूमा भाग लिन थालिन् ।
सुरुमा जिल्ला स्तर, पछि प्रदेशस्तरीय खेलहरूमा भाग लिइन् । हरेक खेलमा उनीसँग प्रतिस्पर्धीभन्दा बढी सङ्घर्ष हुन्थ्यो । अभ्यासको अभाव, स्पोर्टस गियरको अभाव, पोषणको समस्या र समाजको असहयोगी दृष्टिकोण ।
तर यी सबैलाई पन्छाउँदै उनी २०७६ सालमा लुम्बिनी प्रदेश स्तरीय महिला साइकल प्रतियोगितामा पहिलो स्थानमा आइन् । त्यो दिन उनले बाँकेको नाम मात्र हैन, आफ्नो पहिचान पनि प्रदेशभर गुञ्ज्याइन् ।
“तपाईँले साइकलिङ प्रतियोगितामा मात्र प्रतिस्पर्धा गर्नुहुन्न,“ उनी भन्छिन्, “समाजको सोच, गरिबी र महिला भयबापतका सर्तहरू विरुद्ध पनि प्रतिस्पर्धा गर्नुपर्छ ।“
‘विवाहपछि धेरै महिला खेल क्षेत्रबाट टाढा जान बाध्य हुन्छन् । तर रूपा त्यस्तो उदाहरण होइनन् ।
उनी २६ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन्, तर त्यो बन्धनलाई सशक्त साथमा बदलेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइन् ।’ ‘श्रीमान्ले सघाउने कुराले मलाई अझ आत्मबल दिएको छ,’ उनले भनिन् । उनका श्रीमान्ले उनको लक्ष्यप्रति समर्थन जनाउँदै घरायसी जिम्मेवारीमा पनि साथ दिएका छन् ।
‘हाम्रो गाउँमा अझै पनि दाँतको समस्या भएको बेला मान्छेहरू झारफुकतिर दौडिन्छन् । म चाहन्छु, व्यवहारिक उपचारतर्फ लैजान सकूँ,’ उनी भन्छिन् । उनी भविष्यमा डेन्टल हेल्थ एडभोकेसीमा काम गर्न चाहन्छिन् । गाउँ–टोलमा स्वास्थ्य सचेतना फैलाउन, महिला र बालबालिकालाई उपचारतर्फ आकर्षित गराउन उनको योजना छ ।
‘खेती मेरो रहर होइन, आवश्यकता हो,’ उनी भन्छिन् । विवाहपछि ससुरालीको जिम्मेवारी, आर्थिक आवश्यकताहरू र परनिर्भर नभई कन बाँच्न सक्ने आत्मबलले उनलाई खेतीमा लाग्न प्रेरित गर्यो ।’ धेरैजसो दिन बिहान ५ बजे उठेर उनी सिँचाइ गर्न जान्छिन् । खेतको काम सकाएर १० बजे अस्पताल जान्छिन् ।
साँझ फर्किएपछि पुनः घरधन्दा सम्हाल्छिन् ।’ ‘यति मेहनत गर्नुपर्छ भन्ने लाग्दैन थियो,“ उनी भन्छिन्, “तर अब बानी परिसक्यो ।’ ‘खेतीबाट उनी घर खर्चको केही हिस्सा व्यहोर्छिन् । बेमौसमी तरकारी, धनिया, गोलभेँडा र केही फलफूल उत्पादन गर्दै आएका छन् । सुरुमा गाउँमा उनलाई ‘खेल्ने केटी’ भनेर जिस्क्याइन्थ्यो ।
साइकल चलाएर गाउँघरतिर हिँड्दा अवहेलना झेल्नु प¥थ्यो । ‘महिला भएर यस्तो गर्छस् ?’ भन्ने तीतो प्रश्नसँग धेरै पटक जुध्नुपरेको थियो । तर अहिले गाउँलेहरूले नै उनलाई गर्वको नजरले हेर्न थालेका छन् ।