© २०२३
काठमाडौं, १९ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई एकताबद्ध बनाउने चुनौती आफूहरूले जिम्मेवारीपूर्वक पूरा गरेको दाबी गरेका छन्।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीभित्रको गुटबन्दी र विखण्डनको अवस्थालाई अन्त्य गर्दै सुदृढ एकताको बाटोमा पार्टी अगाडि बढेको बताएका हुन्।
“देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टीले ऐतिहासिक भूमिका खेलेको छ,” प्रचण्डले भने, “त्यस परिवर्तनलाई जोगाउँदै पार्टीलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो, जुन हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं।”
उनले पार्टी अब एक ढिक्का भएको र गुटबन्दीको अन्त्य गर्ने सामूहिक संकल्प गरिएको उल्लेख गरे। “पार्टी एकताबद्ध भएको छ।
हामी सामूहिक प्रतिबद्धता गरेका छौं,” उनले भने, “हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं।”
प्रचण्डको भनाइ अनुसार, अब माओवादी केन्द्र संगठनात्मक र वैचारिक रूपमा अझ स्पष्ट मार्गचित्रसहित अघि बढ्ने तयारीमा रहेको छ।