Butwal Today

पहिरोले परिवार विस्थापित, स्वास्थ्य चौकीमा क्षति

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

 गुल्मी, १९ साउन  ।

अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको चन्द्रकोटमा रहेको एक स्वास्थ्य चौकीमा क्षति पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –१ सराङ् स्थित दिब्रुङ स्वास्थ्य चौकीमा सोमबार बिहान वर्षाको कारण माथिबाट पहिरो खस्दा स्वास्थ्य चौकीमा क्षति पुगेको हो ।

पहिरोका कारण उक्त स्वास्थ्य चौकीको पछाडिको सुत्केरी स्याहार कक्षमा पूर्ण रूपमा क्षति पुगेको बताइएको छ ।
घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट गएको प्रहरी टोली र स्थानीय वडा कार्यालयको पहलमा अहिले स्वास्थ्य चौकीमा खसेको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  

गोठ भत्किदा पाँच चौपायाको क्षति

त्यसै गरी वर्षाको कारण गुल्मीको मुसिकोट नगरपालिकामा गोठ भत्किदा पाँच वटा चौपायाहरू मरेका छन् । मुसिकोट नगरपालिका –१ स्थित रगनाम बस्ने जयबहादुर थापाको सोमकार अपराह्न कच्ची गोठ भत्किदा गोठमा रहेका ३ वटा गाई, एउटा बाच्छा र एउटा बाख्रा पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाउना साथ पौदीअमराई प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा प्रहरी टोली उद्धारको लागि तत्कालै घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोका कारण चार जना विस्थापित
पहिरोका कारण जिल्लाको चन्द्रकोट गाउँपालिकामा एक घर परिवारका चार जना विस्थापित बनेका छन् । विस्थापित हुनेमा चन्द्रकोट गाउँपालिका –४ पुङ्गा निवासी अमर बहादुर कुमालको चार जनाको परिवार रहेको छ ।

पहिरोका कारण उहाँको दुईतले कच्ची घर भत्किन लागेपछि उनीहरु विस्थापित भएका हुन । विस्थापित परिवारलाई अहिले आश्रयका लागि आफन्तकोमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारूले बताए । गुल्मीमा दुई दिनदेखि लगातार रूपमा वर्षा भइरहेको छ ।