Butwal Today

श्रद्धा र श्रृंगारले रंगिएको साउन

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

बुटवल ।

बुटवल १२ तामनगरकी ६५ वर्षीया धनिसरा लम्साल साउन लाग्न लागेपछि निकै उत्साहित देखिन्थिन् । उनले भनिन्, “पहिला त साउन सुरु हुनु एक किसिमको उत्सव नै लाग्थ्यो। असारको अन्तिम दिन तिउरीको लेप हातमा लगाएर साउन १ गते बिहान धुने चलन थियो । अहिले त्यो परम्परा हराउँदै गयो, मेहन्दीले त्यसको स्थान लियो।“ उनी मुस्कुराउँदै थप्छिन्, “हामी त शिवजीलाई मन पराउने श्रीमान् पाउने आशामा व्रत बस्थ्यौं, अहिलेका छोरीहरू फेसनका लागि गर्छन्, तर भावना त उस्तै हो नि ।”

धनिसरा लम्सालजस्ता महिलाहरूका लागि साउन केवल धार्मिक महिना होइन, आत्मीयता र समर्पणको समय हो। यसले आफूभित्रको श्रद्धा, सौन्दर्य, र सामाजिक सम्बन्धलाई पुनः ताजा बनाउँछ।

साउनः शिवभक्ति र श्रद्धाको महिना

साउन महिनाको सुरुवातसँगै हिन्दू समाजमा शिवभक्तिको लहर फैलिन्छ। साउनलाई भगवान् शिवको आराधना गर्ने विशेष महिना मानिन्छ। धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको क्रममा निस्किएको हलाहल विषलाई भगवान् शिवले पिएर सृष्टिको रक्षा गरेका थिए। त्यो विषको ताप शान्त पार्न साउनभर शिवलिङ्गमा जल, दूध, दही, बेलपत्र अर्पण गर्ने परम्परा बस्यो। सोमबारको व्रत र शिव पूजाको महत्व झनै बढ्न थाल्यो।

व्रत बस्ने चलन विवाहित र अविवाहित दुवै महिलामा समान रूपमा देखिन्छ। विवाहित महिलाहरू पतिको दीर्घायु र सुखको कामना गर्छन् भने अविवाहितहरू आदर्श जीवनसाथी पाउने चाहनामा व्रत बस्छन्।

श्रृंगार र सांस्कृतिक पहिचान

साउनसँगै नारीहरूको श्रृंगारमा हरियाली छाउने गर्छ। हरियो चुरा, रातो पोते, पहेँलो टिकादेखि गाढा मेहन्दीसम्मको श्रृंगारले महिलाहरू झनै उज्याला देखिन्छन्।

सैनामैना १० की व्यूटिसियन पुष्पा घिमिरे भन्छिन्, “साउन महिनामा महिला ग्राहकहरू चुरा, पोते, साडी र मेहन्दी लगाउन एकदमै उत्साहित हुन्छन्। पसलहरूमा भिड लाग्छ। यो महिनाले व्यापारमा पनि चहलपहल ल्याउँछ।”

तर उनी स्वास्थ्यप्रति पनि चिन्तित छिन्। “आजभोलिका मेहन्दीहरूमा रसायन मिसिएको हुन्छ, जसले छालामा असर पु¥याउन सक्छ। श्रृंगार गर्दा पनि स्वास्थ्यमाथि ध्यान दिनुपर्छ,” उनी भन्छिन्।

बोलबम यात्राको उत्साह

साउन महिनामा बोलबमको पनि विशेष महत्व छ। भक्तजनहरू जल भरेर शिवालयमा चढाउनका लागि लामो पैदल यात्रा गर्छन्। पश्चिम नेपालका पर्रोहा परमेश्वर, रुद्रपुर, देवदहदेखि लिएर पशुपतिनाथसम्म बोलबमको लहर चल्छ।

धार्मिक व्यक्तित्व विष्णु भण्डारी भन्छन्, “बोलबम यात्रा केवल पूजा होइन, आत्मशुद्धिको यात्रा हो। साउनले धार्मिक पर्यटनलाई पनि सम्बृद्ध बनाउँछ। स्थानीय बजार, होटल, यातायात सबैमा यसको असर देखिन्छ।”

साउनः प्रकृति र मानवको मिलन

साउन महिनाको प्राकृतिक पाटो पनि अतुलनीय छ। हरियाली, झरना, फूल, चिसो मौसमले मानिसको मनमा आध्यात्मिक अनुभूति जगाउँछ। वर्षाको सुरुवातले खेतीपातीको चहलपहल पनि बढाउँछ।

इस्कोनकी सेविका शारदा थापा भन्छिन्, “साउनमा प्रकृति र मानिसबीचको सम्बन्ध झनै नजिकिन्छ। वर्षाले ल्याएको चिसो मौसम र हरियालीले मानिसलाई अध्यात्म, अनुशासन र प्रकृति प्रेमतर्फ उन्मुख गराउँछ।”

संस्कृति, सन्देश र सौन्दर्यको समिश्रण

साउन महिना केवल एक धार्मिक पर्व होइन, यो नेपाली नारीहरूको आत्मीय संस्कृति, विश्वास र सौन्दर्यप्रतिको प्रेमको प्रतीक हो। श्रृंगारमा देखिने हरियो, रातो र पहेँलो रंगले उनीहरूको मनोभावनालाई व्यक्त गर्छ।

आज साउनले पुराना परम्परालाई आधुनिकताको सुगन्धसहित अगाडि बढाइरहेको छ। चाहे तिउरीको स्थान मेहन्दीले लिएको होस् वा व्रतको कारण फेसनसँग पनि जोडिएको होस्—साउन अझै पनि नेपाली समाजमा जीवन्त, रंगीन र श्रद्धायुक्त रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?