ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

वर्षावासमा भिक्षुहरूः आध्यात्मिक विकासको अवसर

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

यतिबेला बौद्ध भिक्षुहरू वर्षावासमा छन् । भिक्षुहरूले प्रत्येक वर्ष वर्षामासभरि कुनै एक विहारमा तीन महिनासम्म वस्ने परम्परा छ । बौद्ध संस्कृतिमा यसलाई वर्षावास भनिन्छ । वर्षावासको समय आषाढ पूर्णिमा वा श्रावण पूर्णिमाको दोश्रो दिनदेखि सुरु हुन्छ । अधिकांश भिक्षुहरू आषाढ पूर्णिमाको भोलिपल्टदेखि वर्षावास बस्ने गर्दछन् ।

आषाढ वा श्रावण जुनसुकै पूर्णिमादेखि वर्षावास बसे पनि पूरा तीन महीनासम्म एक स्थानमा बस्नुपर्ने कुरा भिक्षु विनय–प्रातिमोक्षले उल्लेख रहेको पाइन्छ । उपसम्पदा दीक्षा प्राप्त भिक्षुहरू एवम् भिक्षुणीहरूले “इमस्मिं विहारे इमं ते मासं वस्सं उपेमि” (यो विहारमा तीन महिना वर्षावास बस्नेछु) भनी प्रतिज्ञा गरिसकेपछि मात्र वर्षावास बस्नेप्रचलन छ ।

वर्षावासको संस्कृति बुद्धको समयदेखि नै चलिआएको परम्परा हो ।बुद्धले दुई प्रकारले वर्षावास बस्न सकिने कुरा बताएका छन् । पहिलो पुरिम वर्षावास । यो आषाढ पूर्णिमाको भोलिपल्टदेखि बस्ने वर्षावासलाई पुरिम वर्षावास भनिन्छ । दोश्रो पच्छिम वर्षावास ।आषाढ महिना बितेपछि बस्ने वर्षावासलाई पच्छिम वर्षावास भनिन्छ ।

किन वसिन्छ वर्षावास ?
वर्षाको समयमा निरन्तर पानी परिरहने हुँदा बाटो हिलैहिलो हुन्छ । बाटोमा विभिन्न जीवहरू देखापर्ने र यताउति हिडडुल गर्न पनि असजिलो हुन्छ । साथै जताजतै घाँसका मुना पलाउने गर्दछन् । भिक्षुहरूले वर्षामासमा देखिने ससाना जीवजन्तुहरू एवम् घाँसका मुनाहरूलाई हानी नहोस् भन्ने हेतुले वर्षावास बस्ने गरेका हुन् । विनय ग्रन्थ अनुसार मुख्यतया यातायात असुविधा तथा वर्षायामको कारणले उत्पन्न हुने जीवहरूको उपघाट हुने अपवादबाट बच्न, वर्षाले रूझ्नु पर्दा त्यसबाट हुने रोगबाट मुक्त हुन, धर्मको गहिरो अध्ययन–अध्यापन र ध्यानाभ्यासका साथै उपासक उपासिकाहरूले पनि धर्मश्रवण गरी ज्ञान लाभ गर्छन् भन्ने मनसायबाट वर्षावासको व्यवस्था गरिएको मान्न सकिन्छ ।

के हुन्छ वर्षावासमा ?
वर्षावासको समय भिक्षुहरू विहारमा ध्यान गर्ने, सूत्रहरू पाठ गर्ने, उपासक उपासिकाहरूलाई धर्म देशना दिने आदि काम गर्दछन् । यो समयमा विहारमा उपासक, उपासिका तथा भक्तजनको आवतजावत बढ्ने गर्छ । विहारमा सरसफाइ गर्ने, भोजन व्यवस्था गर्ने र दान दिन उपासक–उपासिका श्रद्धा र भक्तिभावले समर्पित हुने गर्छन् । बौद्ध धर्म परम्परा अनुसार वर्षावासको समयमा दानको महिमा अतुलनीय हुन्छ । वर्षावासको समयमा एक मुठी चामल दान दिए पनि त्यसले ठूलो पुण्यलाभ हुनेविश्वांस गरिन्छ । यो बेला उपासक–उपासिका तथा भक्तजनले भिक्षुको समीप रही उपदेश ग्रहण गर्ने गर्दछन् ।

उपोसथ संस्कार
वर्षावास सुरु हुनुभन्दा एक दिनअगाडि अर्थात् पूर्णिमाको दिन भन्ते अर्थात् भिक्षुहरूले उपोसथ ग्रहण गर्ने चलन छ । उपोसथ भनेको भिक्षुहरूले वर्षावासभरि पालना गर्नुपर्ने कडा विनय हो । त्यसो त यो भन्तेहरूको नित्य कर्म हो ।उपसोथलाई शील, समाधि र प्रज्ञाको गहन पालनाको प्रतिज्ञाका रूपमा लिइन्छ । उपोसथले चित्त शुद्ध हुने र उपोसथ जति इमानदारी र निष्ठाका साथ गरिन्छ, त्यति मानसिक शान्ति प्राप्त हुने बताइन्छ ।

यसका साथै उपासक उपासिकाहरूले पनि भिक्षुभिक्षुणीहरूलाई वर्षावासको समायमा सहयोग गर्नेछौँ भनी अधिष्टान गर्दछन् । बौद्ध धर्ममा यो एक विशेष धार्मिक दिन हो जसलाई बौद्ध समुदायले ध्यान, प्रवचन, र विशेष धार्मिक अभ्यासका लागि समर्पित गर्दछन् । यो दिनमा, बौद्ध भिक्षुहरू र साधारण मानिसहरूले विभिन्न धार्मिक क्रियाकलापहरूमा भाग लिन्छन्, जसले उनीहरूलाई बौद्ध शिक्षाहरूमा केन्द्रित रहन र आफ्नो आध्यात्मिक यात्रा जारी राख्न मद्दत गर्छ ।भिक्षुभिक्षुणीहरू प्रत्येक दुई हप्तापछि आफूले विनय पालन गरेनगरेका सम्बन्धमा समूहमा जानकारी गराउँदछन् । आगामि दिनहरू विनयको पालनाको लागि थप सचेत हुन्छन् यसले गर्दा विनय सुदृढ बनाउन पनि सहयोग पुग्छ ।

कठिन चीवर दान
वर्षावासपछि कठिन चीवर दानको महोत्सव सुरु हुन्छ । यसमाउपासक–उपासिका तथा भक्तजनको सहभागितामा विहारमा परित्राण पाठ गर्ने र भिक्षु संघलाई अष्ट परिष्कारसहित चीवर दान दिने चलन छ । चीवर भिक्षु–भिक्षुणीहरूले लगाउने लुगा हो ।भन्तेहरूलाई आफूखुसी चीवर किन्न वर्जित छ । भिक्षु संघलाई दान दिइएका चीवर वर्षावासमा रहेका भन्तेहरूले प्राप्त गर्दछन् । यसबारे विनय पिटकमा पनि उल्लेख गरिएको छ । बुद्धको जीवनकालमा सीमित अवधिमा चीवर हातले बुनेर रंगाएर, सिलाएर दान दिनु चुनौतीपूर्ण र कठिन कार्य थियो । त्यसैले यस पर्वको ‘कठिन चीवर दान’ नामकरण गरिएको हो ।

कठिन चीवर दानको सन्दर्भमा बौद्ध साहित्यमा एक प्रसङ्ग छ । एक पटक पावानगरबाट राजकुल त्याग गरी प्रवजित भएका ३० जना भन्ते बुद्धको दर्शनार्थ श्रावस्तीनगरको जेतवन महाविहारतिर जाँदै थिए । जङ्गगल तथा पहाडको बाटो छिचोल्दै अडाडि बढ्ने क्रममा उनीहरूनजिकै साकेतनगर पुग्दा वर्षावास सुरु भएछ । वर्षावासको विनय पालना गर्न उनीहरू त्यहीँ गुफामा बास बसेछन् ।

गुफा स्वास्थकर थिएन । त्यहाँको बसाइ तथा अस्वस्थकर भोजनका कारण भिक्षुहरू बिरामी पर्न थाले । तीन महिनासम्म लगाएको एउटै चीवर मैलिएर च्यातिन थाल्यो । वर्षावास समाप्तिपछि सोही अवस्थामा उनीहरू बुद्धको दर्शनार्थ जेतवन महाविहार पुगे । भिक्षुहरूको त्यस्तो हालत देखेर बुद्ध असीम मैत्री तथा करुणाले विह्वलभए ।त्यसपछि बुद्धले भिक्षुहरूलाई चीवर दान गर्नुपर्ने आवश्यकता महसुस गरी यो पर्वको प्रारम्भ गरे ।

कठिन चिवर दान एक वर्षमा एक विहारमा एक पल्ट मात्र गर्ने गरिन्छ । यसका लागि विनयको पूरापूरा पालना गर्ने भिक्षु अर्थात् विनयपूर्ण भिक्षुले मात्र अवसर प्राप्त गर्दछन् । यसले गर्दा एकातिर परिपूर्ण भिक्षुको विकास हुने र उपासक उपासिकालाई पनि पुण्य लाभ गर्ने अवसर प्राप्त हुन्छ ।

कसरी सुरुवात भयो वर्षावास प्रथा ?
एक समय भगवान् बुद्ध राजगृहको वेलुवनमा विहार गरिरहेका थिए । त्यसबेलासम्म भगवान् बुद्धले भिक्षुहरूलाई वर्षावास बस्नुपर्छ भनेर नियम बनाएका थिएनन् । त्यसबेलाका भिक्षुहरू हेमन्त, गृष्म र वर्षा तीनै ऋतुमा चारिका गरिरहन्थे । त्यसबाट मानिसहरू अप्रसन्न थिए । तथागत बुद्धका समकालीन महावीरले (जैन–धर्मका प्रवर्तक) आफ्ना शिष्यहरूलाई वर्षा ऋतु–तीन महीना एकै ठाउँमा बस्नुपर्ने पज्जुसन (वर्षावास) नियम बनाइएको थियो । जैन तीर्थङ्करहरूले वर्षाकाल तीन महिना एकै ठाउँमा बिताई अन्य दिनहरूमा भ्रमणशील रही जीवन बिताउने गर्थे ।

यहीक्रममा “बुद्धका शिष्य भिक्षुहरूले न वर्षात्को समयमा देखिने जीवलाई वास्ता गरेका छन; न हरियो–हरियो भई पलाएको घाँसमा कुल्चनुमै संयमता अपनाएको छ, न त वर्षावास नै बस्छन् । बरू जैन साधुहरू नै वर्षाकालमा एकै ठाउँमा बसी यताउति जाँदैनन् तर संयमतापूर्वक एकै स्थानमा बस्छन् ।” –भन्ने निन्दा चर्चा चारैतिर फैलियो । यो कुरा बुद्धको कानमा पनि पुग्यो । अनि बुद्धले तत्कालीन समय–परिस्थिति र जनभावनालाई कदर गर्दै “भिक्षुहरू वर्षावास बस्ने अनुमति दिन्छु ” भनी वर्षावास बस्नुपर्ने विनय–नियम घोषणा गरे ।बुद्धले पनिबोधिज्ञान प्राप्त गरेपछि त्यही सालको आषाढ पूर्णिमादेखि जम्मा ४५ वर्षाबासहरू विताएका थिए ।

सांँस्कृतिक र आध्यात्मिक विकासमा भूमिका
वर्षाबास अवधिमा भिक्षुहरू स्थिर रूपमा एक ठाउँमा बस्छन् र आफ्नो आध्यात्मिक अभ्यासलाई गहन रूपमा अगाडि बढाउँदछन् । यो समयमा भिक्षुहरू ध्यानमा बस्ने, त्रिपिटक लगायत बौद्ध ग्रन्थहरू पाठ गर्ने र उपासक उपासिकाहरूलाई धर्म देशना दिने गर्दछन् । यसले गर्दा भिक्षु–भिक्षुणी तथा उपासक–उपासिकाहरूमा आध्यात्मको विकास हुन जान्छ । वर्षाबासको समयमा भिक्षुहरूले विनयको विशेष रूपमा पालना गर्ने र आध्यात्मिक अभ्यासलाई गहिरो रूपमा कायम राख्ने गर्दछन् । यसका साथै समुदायमा रहेका उपासक उपासिकाहरूलाई बौद्ध शिक्षा दिने गर्दछन् । यसले गर्दा एकातिर बुद्ध शिक्षाको रक्षा गर्न सहयोग पुग्दछ भने अर्काेतिर यसले बुद्ध शिक्षाको प्रसार प्रसार गर्न सहयोग गर्दछ । साथै उपासक–उपासिका एवम् भिक्षु–भिक्षुणीहरूमा बौद्ध शिक्षाको गहिराइ बुझ्न पनि सहयोग पुग्दछ । यसका साथै उपासक उपासिकाहरू दान पारमिताको अभ्यासमा अभ्यस्त हुन्छन् । त्यसैले वर्षवास बौद्ध परम्परामा एक पर्व मात्र नभएर सांस्कृतिक एवम् आध्यात्मिक महोत्सव पनि हो ।

वार्षावासले भिक्षुहरूलाई तीन महिनासम्म सामूहिक रूपमा एक स्थानमा रहने अवसर प्रदान गर्दछ ।यसले उनीहरूलाई आपसमा सामूहिक एकताको भावना जागृति गराउनुका साथै बौद्ध शिक्षाको अध्ययन र ध्यानमा केन्द्रित हुन मद्दत गर्छ। त्यसैले भिक्षुहरू यो समयमा अनुशासनको गहिरो अभ्यास गर्ने र बौद्ध मार्गमा आफ्नो आत्म–अवलोकनलाई पनि परीक्षण गर्न सक्दछन् । ध्यान मार्फत् उनीहरू आफ्नो चित्तलाई स्थिर बनाउन सक्दछन् ।यसले गर्दा उनीहरूको आध्यात्मिक विकासमा सघाउ पुग्दछ ।

वर्षावासको समयमा भिक्षुहरू ध्यान गर्ने, प्रवचन गर्ने र धर्म–चर्यामा सक्रिय रूपमा संलग्न हुन्छन्। यसचर्यालेउनीहरूलाई बौद्ध शिक्षाको गहिराइ बुझ्न र ध्यानमा अधिक समय खर्च गर्न सहज बन्दछ । जसले गर्दा उनीहरूको आध्यात्मिक उन्नति हुन जान्छ । वर्षावासको अवधिमा उपासक–उपासिकाले भिक्षुहरूलाई भोजन, वस्त्र र अन्य आवश्यकताहरूको परिपूर्ति गर्न सहयोग गर्दछन् । यसले गर्दा भिक्षुहरू र समुदाय बीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्दछ । साथै परस्पर सहयोगको भावना बढाउन पनि मद्दत गर्दछ । वर्षावासको समयमा विहारमा सरसफाइ गर्ने, भोजन व्यवस्था गर्ने र दान दिन उपासक–उपासिका श्रद्धा र भक्तिभावले समर्पित हुने गर्छन् । यस्तो संस्कृतिको विकासले बुद्ध धर्मको अध्यासमा पनि मद्दत पुग्दछ । साथै आध्यात्मिक विकासमा पनि सहयोग गर्दछ ।

वर्षावासको समयमा उपासक उपासिकाहरू भिक्षुहरूको सहयोगका निम्ति बिहारमा आउँछन् । त्यहाँ उनीहरूले भिक्षुहरूद्वारा दिइने धर्म देशना पनि सुन्न पाउँदछन् । अर्काे शब्दमा भिक्षुहरूले वर्षावासको समयमा समुदायलाई प्रवचन र शिक्षण दिने अवसर पाउँछन् ।यसले गर्दा समुदायलाई बौद्ध शिक्षाबाट दिक्षित हुन सहयोग पुग्दछ । साथै भिक्षुहरूलाई पनि आफ्ना ज्ञान र अनुभवहरू प्रदान गर्ने मौका मिल्दछ । वर्षावासको अवधिमा भिक्षुहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा पवित्रता र स्वच्छतामा रहन ध्यान दिनुपर्ने कुरामा प्रोत्साहित गरिन्छ। यसले उनीहरूको आध्यात्मिक अभ्यासलाई थप शुद्ध र सुदृढ बनाउन मद्दत पुग्छ ।

वर्षावासको समयमा भिक्षुहरूले विभिन्न ठाउँमा चरिका गर्नुपर्ने हुँदैन । त्यसैले भिक्षुहरू एकै स्थानमा बसेर शील पालनामा विशेष ध्यान दिने र ध्यान साधना समेत गर्ने गर्दछन् । यसले गर्दा उनीहरूको चित्त बलियो हुन जान्छ । साथै चित्त र भूतबारे ज्ञान लिन सहज बन्दछ । ध्यान साधना मार्फत् आध्यात्मिक विकासमा सहयोग पुग्दछ । बुद्धको पालामा पनि प्रथम वर्षावासमा ६० जना भिक्षुहरू अर्हत भएका थिए । शील, समाधी र प्रज्ञाको क्षेत्रमा वर्षावासको महत्वपूर्ण योगदान रहन सक्दछ भन्ने कुरा यो एक दृष्टान्त हो ।

वर्षावासको परम्परा बौद्ध भिक्षुहरू रहेका सबै मुलुक र स्थानहरूमा एकै समयमा हुने गर्दछ । यसले गर्दा भिक्षुहरूविभिन्न देश वा स्थानमा गएर पनि निश्चित विहारमा वा उपासक उपासिकाले आग्रह गरेमा उनीहरूले व्यवस्था गरेको स्थानमा वर्षावास बस्दछन् । यसका साथै भिक्षुभिक्षुणीको सेवा गर्न र दान गर्न देश विदेशबाट मानिसहरू आउने गरेको पनि पाइन्छ । यसले गर्दा संस्कृतिको आदान प्रदान हुन सहयोग पुगेको छ । यस प्रकार वर्षावास संस्कृतिले बौद्ध संस्कृति र परम्परामा एकताको आभाष दिलाउँछ । समग्रमा वर्षाबासले भिक्षुहरूलाई आफ्नो आध्यात्मिक यात्रालाई दरिलो पार्ने अवसर प्रदान गर्दछ भने उपासक उपासिकाहरूमा पनि आध्यात्मको संचार गर्न मद्दत गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?