© २०२३
काठमाडौँ ।
आइतबारको दिन शेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ अंकमा झरेको छ। अन्तिम १५ मिनेटमा भारित औसत मूल्य गणना नभएपछि बजार एक समय २८५७ अंकसम्म पुगेको थियो, जुन आजकै लागि न्यूनतम बिन्दु हो।
बजारको समग्र कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार १३ अर्ब ७ करोडमै सीमित भएको छ। आज १६ वटा कम्पनीको मूल्य बढ्दा २३३ वटा कम्पनीको घटेको छ। सबै उपसमूहका सूचकहरूमा गिरावट आएको छ।
सबैभन्दा धेरै ‘अन्य समूह’ ३.४८ प्रतिशतले घट्यो। त्यसपछि माइक्रोफाइनान्स ३.०५, उत्पादन तथा प्रशोधन २.४४, बैंकिङ २.२७, लगानी २.१९, जीवन बीमा २.१६, निर्जीवन बीमा १.७३, विकास बैंक र फाइनान्स समूह १.६६, हाइड्रोपावर १.३०, व्यापार १.४३ र होटल तथा पर्यटन समूह १.१७ प्रतिशतले घटेका छन्।
यता ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। हालै मात्र सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ। थ्रीस्टार हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकका सेयर मूल्यमा समेत केही वृद्धि देखिएको छ।
उता सान्भी इनर्जीको मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले घटेर ८०२.४० रुपैयाँमा झरेको छ। त्यसैगरी समता घरेलु लघुवित्त, ग्रिन भेन्चर्स, सिक्लेस हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तका सेयरमा पनि उल्लेख्य गिरावट आएको छ।
आज कारोबारका आधारमा अगाडि रहेका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर रहेका छन्। बजारमा देखिएको निरन्तर गिरावटले लगानीकर्ताहरूमा पुनः अन्योलता र सतर्कता बढाएको संकेत देखिएको छ।