© २०२३
बुटवल, १७ साउन ।
रोटरी सेवा भावनालाई मूर्तरूप दिँदै, रोटरी क्लब अफ बुटवल चौतारी र रोटरी क्लब अफ वीरगञ्जको संयुक्त पहलमा तीन जना अपाङ्ग व्यक्तिहरूलाई कृत्रिम खुट्टा जडान गरी नयाँ जीवनको आशा प्रदान गरिएको छ।
दीर्घकालीन अपाङ्गता बोकेर जीवन यापन गरिरहेका व्यक्तिहरूको हिँडडुल गर्न सक्ने क्षमता र आत्मविश्वास बढाउने उद्देश्यले यो सहयोग गरिएको हो। उक्त सेवा कार्यक्रममा डा. सस्वतको विशेष समन्वयमा र वीरगञ्ज रोटरी परिवारको सक्रिय सहकार्य रहेको थियो।
कृत्रिम खुट्टा जडानका लागि सम्पूर्ण खर्चहरु दुवै क्लवले संयुक्तरुपमा व्यहोरेको रोटरी क्लव अफ बुटवल चौतारीले जानकारी दिएको छ । कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष राजु अधिकारी, संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेललगायतको उपस्थिति थियो ।
कृत्रिम खुट्टा प्राप्त गर्ने व्यक्तिहरूको विवरण यसप्रकार छ:
दिपक बहादुर परियार, ३८ वर्ष, पाणिनी–१, अर्घाखाँची। २६ वर्षअघि रेल दुर्घटनाबाट बायाँ खुट्टा घुँडामुनि गुमाएका थिए।
भूपराज भुर्तेल, ३९ वर्ष, बुटवल–११, रूपन्देही। २० वर्षअघि एक दुर्घटनाबाट बायाँ खुट्टा (घुँडामाथि) गुमाएका थिए।
सफिउल्लाह मियाँ, ३० वर्ष, साउठी–९, नवलपरासी। ३ वर्षअघि मेसिनरी दुर्घटनाबाट दायाँ खुट्टा घुँडामाथि र बायाँ खुट्टा घुँडामुनि गुमाएका थिए।
यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ। आयोजक क्लबहरूले भविष्यमा पनि यस्ता मानवीय सेवाहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएका छन्।