© २०२३
नेपालगञ्ज, १७ साउन ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३, हिरमिनियामा रहेको ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र) सञ्चालनमा आएको छ वर्ष भइसक्यो । दैनिक २५ टनसम्म फोहोर यही ल्याइन्छ । तर, मेसिन जडान भए पनि यहाँ फोहोर छुट्याउने काम अझै मान्छेले हातैले गरिरहेका छन् । यसरी फोहोर छुट्टयाउने कामसँगै कामदारहरू स्वास्थ्य जोखिमको सिधा सामना गरिरहेका छन् ।
ल्याण्डफिल साइटमा राखिएको फोहोर छुट्याउने महँगो मेसिन प्रभावकारी रुपमा प्रयोग गरिएको छैन । मेसिन हुँदाहुँदै पनि कामदारहरूले हातैले फोहोर छानिरहेका छन् । फलस्वरूप, यहाँ काम गर्ने श्रमिकहरूको दैनिकी जोखिमपूर्ण बनेको छ । अस्पतालजन्य फोहोर छुट्याउने क्रममा कहिले सुई, कहिले शिशाले घाइते हुने समस्याबाट उनीहरू पीडित छन् ।
बेतहनीकी सोनी कुमारी बर्मा टिनको छानामुनि बसेर फोहोर छुट्याउने दैनिक काममा खटिन्छिन् ।
उनका अनुसार फोहोरमा मिसिएका प्रयोग गरिसकेका सुई, ग्लोभ्स, प्लास्टिकलगायत सामग्री छुट्याउँदा हातमा चोट लाग्ने गर्छ । ‘ग्लोभ्स लगाउँछु तर त्यसबाटै सुईले बिझाउँछ, कहिले काँचले काट्छ’, उनी भन्छिन्, ‘फोहोरमा रोग लुकेको हुन्छ, डर त लाग्छ तर काम नगरे खाने के ?’
त्यहाँ काम गरिरहेका धेरै श्रमिकहरूमध्ये केही किशोर छन् जो पढाइ खर्च जुटाउन फोहोर व्यवस्थापनमा संलग्न छन् । आठ कक्षामा अध्ययनरत आशिष कुमार भन्छन्, ‘बिहान स्कुल जानुअघि केही घण्टा फोहोर छुट्याउँछु, कमाएको पैसाले किताब, कपी किन्छु ।’
विगत एक वर्षदेखि नियमितरूपमा काम गरिरहेका कमरुद्धिन शेखले दैनिक ८–९ घण्टासम्म फोहोर व्यवस्थापनमा खटिने गरेका छन् । उनी भन्छन्, ‘बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फोहोर छान्ने, सुकाउने, थुपार्ने काम गर्छु ।’
१३ बिघा क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटमा फोहोरको पहाडजस्तो थुप्रो बनिसकेको छ । वरपर दुर्गन्ध र झिँगाको आतंक छ । कुहिने र नकुहिने फोहोर एउटै स्थानमा मिसिएर आउने हुँदा व्यवस्थापन झनै जटिल बन्न पुगेको छ ।
ल्याण्डफिल्ड साइट एसियाली विकास बैंक (एडीवी) को सहयोगमा झन्डै ३९ करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो । यद्यपि, लामो समयसम्म यसको मर्मत तथा मेशिन प्रयोगको अभावमा कामदारहरूलाई नै फोहोर छान्ने जिम्मा परेको ल्याण्डफिल साइटका इञ्चार्ज शिव लामिछाने बताउँछन् । ‘मेशिन पनि कहिलेकाहीं चलाइन्छ,’ उनी भन्छन्, ‘तर ठूलो मात्रामा आउने फोहोरलाई मेशिनले धान्न सक्दैन भनेर मान्छेबाटै छुट्याउने गरिएको हो ।’
नेपालगञ्ज उपमहानगरपालिकाबाट दर्ता भएका ६ वटा निजी कम्पनीमार्फत दैनिक फोहोर ल्याउने गरिएको छ । तर, ती घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर ल्याउने व्यवस्था प्रभावकारी रूपमा लागू हुन सकेको छैन । लामिछाने भन्छन्, ‘सुरुमा छुट्याएर ल्याउने भनिएको थियो, तर व्यवहारमा त्यो सम्भव भएन ।’
ल्याण्डफिल साइटको व्यवस्थापन जिम्मा निजी ठेकेदारलाई दिइएको छ । नगरपालिकालाई अहिले सो ठेक्काबाट कुनै प्रत्यक्ष राजस्व प्राप्त भएको छैन । योजना त छ, तर कार्यान्वयनको अभावमा प्रभावकारी सुधार देखिएको छैन ।
श्रमिकहरूको लागि सुरक्षाको भरपर्दो उपाय छैन । स्वास्थ्य सुरक्षाका सामाग्री सीमित छन्, जोखिम बढी छ । कामदारको बाध्यता र राज्यको योजनाविहीनता बीच फोहोर व्यवस्थापनको सारा जिम्मेवारी थोरै मानिसहरूको काँधमा आइपरेको छ ।
महँगा उपकरण भएका ल्याण्डफिल साइटमा फोहोर छुट्याउने कार्य अझै पनि मानवीय श्रममा भरिएको छ ।
यसले न त दीगो फोहोर व्यवस्थापन सुनिश्चित गर्छ, न त कामदारहरूको स्वास्थ्य सुरक्षा । राज्य र स्थानीय सरकारको ध्यान अब तत्काल प्रभावकारी व्यवस्थापन, सुरक्षाको सुनिश्चितता र मेशिनको भरपुर प्रयोगतर्फ जान आवश्यक छ ।