© २०२३
एउटा परिवारको रूपमा रहेको संगम पब्लिकेशनको २०८२ जेठ ९ गतेको बैठकको शून्य समयमा चीनको पारिवारिक वैदेशिक यात्राले प्रवेश पायो । यात्रामा सहदेव सापकोटा, नवीन पौडेल र मबाट प्रारम्भिक संवादमै जाने प्रतिबद्धता ब्यक्त भयो । प्रकाशन गृहका सबै सेयर सदस्य सहभागी हुने संभावना न्यून भएकोले सबै खर्च ब्यक्तिगत गर्ने गरी हामी छुट्टियौ ।
पंकज अग्रवाल, किशोरराज सापकोटा, बालकृष्ण बस्याल, ऋषिराम शर्मा भण्डारी र सरोज मास्केको छोरी सोनाली सहित सबैको परिवारका सदस्य सहित २० जनाको टोली चीनको राजधानी बेजिङ, साङ्घाइ, इयु, सेन्जन र गोन्जाओ अध्ययन अवलोकन भ्रमण गर्न समूह तयार भयो ।
सर सल्लाह अनुसार २०८२ असार १५ गते साँझ ९ दिने वैदेशिक भ्रमणदल त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेट भयौ । चीनको यात्रा पहिलो भएका कारण मनमा अनेकन जिज्ञासा र कौतुहलताको ज्वारभाटा चलिरहेको थियो ।
जहाजमा कफि र वाइन
जहाजमा म र कमला (श्रीमती) एउटा पातला कम्बल लियौं । जहाज उडेर निश्चित उचाइ लिइ सकेपछि पानी, चिया, कफी, जुस, वाइन, वियर र ह्वीस्की मध्ये के लिनु हुन्छ भन्दै सबै यात्रुलाई सोध्दै परिचारिका गुडाउने भाडो लिएर आए । हामी पनि जुस लिएर पिउँदै अगाडि पछाडि आँखा घुमाउँदै हेरिरह्यौ ।
एकैछिनमा परिचारिकाहरू टिकटसंगै अर्डर गरेको खाना पु¥याउन आए । हाम्रो ग्रुपको शाकाहारी खानाको अर्डर रहेछ तापनी हामी (म र कमला) ले खाना खाएनौ । हाम्रो खाना समूहमा गएका साथिहरूले लिनु भयो । खानाको सट्टा फलफूल आएपछि म भुसुक्क निदाएछु । बिउँझिदा जहाजको झ्यालबाट गोन्जाओ सेरोफेरोका भूगोल र संरचना नियाल्दै गर्दा जहाज अवतरण भएको पत्तै पाइएन ।
गोन्जाओ एयरपोर्टमा टहलिदै हामी गर्दा हाम्रो बेजिङ तर्फको उडानको समय भैसकेको थियो । भूगोल र जनसंख्या र बिकासका दृष्टिले संसार मै एक, दुई तीन भित्रको समृद्ध देशको ब्यापारिक केन्द्र गोन्जाओ एयरपोर्टको वर्णन गरेर साध्य नै छैन । बिशालता, सरसफाइ र सौन्दर्यकरण तिनै दृष्टिबाट गोन्जाओ एयरपोर्ट अब्बल छ ।
करिव ढाइ घण्टाको बेजिङ्को उडान समयमा अपरिचित चिनियाँ भूगोलमा बनेका संरचना नियाल्यौं । हामी बाहिर निस्कदा सहदेवप्रसाद सापकोटा लेखेको प्ले कार्ड लेखेको अर्धवैसे मानिस उभिएका थिए । तिनै अर्धबैसे मानिस हाम्रो ट्राभल एजेन्सीले तय गरिदिएका टुर गाइड रहेछन ।
होटल धेरै टाढा भएकोले बेजिङ्का सामरिक र रणनीतिक महत्वका स्थानको अबलोकन गराउँदै लगे । त्यो समयमा बाहिरको तापक्रम करिव ४० डिग्रीको आसपास थियो । ट्राभल एजेन्सीले एसी सहितको बस ब्यवस्थापन गरिदिएकोले गाडिमा बसुन्जेल आनन्द नै हुन्थ्यो ।
फराकिला सडक, सडक किनारामा सौन्दर्यात्मक हरियाली र गगनचुम्बी घरहरू छिचोल्दै पुरातात्विक महत्वको फरबीडेन सिटी त्यो संगै रहेको विशाल बगैँचा, बगैँचा भित्रका ८ सय वर्ष पुराना बोट वृक्ष हेर्दै एयरपोर्टको भन्दा पनि कडा सुरक्षा जाच पश्चात बहुचर्चित त्यानमेन स्क्वायर, माओको समाधी स्थल, चिनियाँ कंग्रेस भवन बाहिरबाटै हेर्दै हामी होटल तिर ग¥यौ ।
यहि बिचमा पुरातात्विक र सामरिक महत्वका स्थलहरूको अवलोकन गर्न लागि निश्चित स्थान सम्म मात्र निजि र सार्वजनिक सवारी लैजान पाइने त्यसपछि पैदल वा अशक्त भए ह्वील चियर प्रयोग गर्नुपर्ने बाध्यात्मक ब्यवस्थाले गर्दा पहिलो दिनको यात्रा मै करिव ५ कि मि पैदल यात्रा गरिए होला ! बेजिङ्को पहिलो दिनको यात्रा हाम्रा लागि तय भएको बेजिड्ड लिसुवे ब्रिज होटल पुगि समाप्त भयो ।
यात्राको दोश्रो दिन दुई तले बसमा चढी हाम्रो यात्रा संसारका सात आश्चर्य मध्येको एक ग्रेटवालतर्फ उन्मुख भयो । मिस्टर लिले प्रवेश टिकट लिएर ग्रेजवाललाई स्पर्श गर्दै करिव २ किमि को हिडाइ पश्चात् फोटो सेसन गरेर होटल तिर फर्कियौ ।
होटलमा आइ आ–आफ्नै किसिमले खाना प्रवन्ध मिलाइ तेश्रो दिनको बिहान ७.३० बजे संघाइका लागि बुलेट ट्रेन स्टेशनका लागि प्रस्थान गर्ने सुचना श्रवण गरि अरू साथिहरू सुत्ने तरखर गर्नु भो म, सहदेवजी, बालकृष्ण दाइ, पंकजजी र ऋषिजी नजिकैको सडक खाना महोत्सव अबलोकनका साथै दिनभरको थकाइ मेट्ने झोलिलो पदार्थ ग्रहण गरि होटल फर्कियौ ।
बिहान सबैले आ–आफ्नो नित्यकर्म सकेर चीनको ब्यवसायिक र पर्यटकीय गन्तव्य तर्फको यात्राका लागि ७.३० बजे होटलको लवीमा पुग्यौ । मुख्य शहर भन्दा हामी बस्ने होटल केही टाढा भएकोले राजधानीको शहरी सौन्यर्यताको जति आनन्द लिनुपर्ने थियो त्यति लिन नसकेको अनुभूति भइ रहेका हामीलाई गाडिबाटै सिटी टुर गर्ने अबसर संगै रेलवे स्टेशन पुग्ने क्रममा मिल्यो ।
नेपालका पाँचतारे होटल कम्पाण्ड भित्रको सौन्दर्यता संगै गगनचुम्वी भवन, अनगिन्ती ओभर फ्लाइ र अण्डरपास सडक छिलोल्दै हामीले कल्पना गर्ने भन्दा धेरै उन्नत प्रकृतिको बिकासको अनुभूति गर्दै रेलवे स्टेसन पुगियो । एयरपोर्टको जत्तिकै सुरक्षा जाँच पश्चात् करिब ४ घण्टाको सरदर ३ सय ६७ किलोमिटर प्रती घण्टाको गति हुने बुलेट ट्रेन नयाँ अनुभव लिने अबसर मिल्यो । रेलवे स्टेशनको सुरक्षा जाँच र रेल भित्रको सेवा र सुविधाको तादात्म्यता मिलेको अनुभूति गरियो ।
जहाजका परिचारिका जस्तै बुलेट ट्रेनका परिचारिकाहरू पनि उत्तिकै अपडेट चिसो–तालो पानी,चिया, कफी, जुस लगायतको खाद्य र पेय पदार्थको सहज उपलब्धता थियो । रेल यात्राको क्रममा ठाउँ ठाउमा आउने ओभरफ्लाइ र सुरुङ्ले हामीलाइ सिद्धबाबा र नौविसे–काठमाण्डौ निर्माणाधीन सुरुङ, ग्वार्कोको ओभरफ्लाइ र कलंकीको अण्डरपास संझाउथ्यो ।
गुगलको सहायताले मैले नेपालीमा लेखेर चाइनिज भाषामा अनुबाद गरिदिन्थ्यो भने चिनियाँ महिलाले चाइनिज भाषामा लेखेको कुरा अंग्रेजीमा अनुवाद गरिदिन्थो हाम्रो संवाद मिजासिलो मात्र होइन दुबैले सेल्फी लिने तह सम्म पुगी मेरो तर्फबाट नवचिनजानकी झेंग यिंगशुआन नामकी महिलालाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै संघाइको रेलवे स्टेशनमा पुगी रेलको यात्रा र महिलासंगको संवाद सकियो ।
रेलवे स्टेशनबाट बाहिर निस्कदा हामीलाइ रिसिभ गर्न ट्राभल एजेन्सीको तर्फबाट सांघाइ र इयुका लागि गाइड मिस्तर रायन प्लेकार्डमा सहदेवप्रसाद सापकोटा लेखी उभिएको देख्यौ । सामान्य चिनजान र भलाकुसारी पश्चात् हामी बस तर्फ लाग्यो ।
करिव २.३० बजे तिरबाट हामी मिस्टर रायनको गाइडलाइन अनुसार पर्ल टावर हुयङगो नदि लगायतमा सांघाइ शहरका मनमोहक दृष्यहरू केही मोवाइलको क्यामरा सबै मष्तिस्कमा कैद गर्दै हाम्रो लागि तय भएको होटल पार्क इन रेडिसन सांघाई डाउनटाउनतर्फ लाग्यौ ।
साझको खाना पश्चात उज्यालो सांघाइ भित्रका गगनचुम्बी भवन निट एन्ड क्लिन सांघाइ शहरका दृष्य संझदै भोलिको सुखद र नविनतम यात्राको कल्पना सहित दिनभरको यात्रा समाप्त गरि नेपालमा पनि भएको रेडिसन होटल चेन होटलमा पसियो ।
सांघाइको दोश्रो दिनको यात्रा बुद्ध मन्दिर अबलोकन, बोटनिकल गार्डेन, सांघाइ म्युजियम, विश्वको दोश्रो अग्लो टावरबाट सांघाइको अबलोकनका साथै Wukang road जस्ता ब्यापारिक केन्द्रको यात्रा तय भए बमोजिम हामी पहिले हाम्रै बुद्ध मन्दिर अवलोकनका लागि लाग्यौ ।
बुद्ध मन्दिर अबलोकन गर्दै गर्दा केही वर्ष अघिको थाइल्यान्डको राजधानी बैंककमा देखिएका बुद्धका विभिन्न आकृति र वैभवशाली गुम्वा/मन्दिरको स्मरण गरायो । बुद्ध जन्मेको देशबाट गएको हुनाले पनि लुम्बिनी, स्वयंभु र बौद्धनाथ वरिपरि नै घुमेको अनुभूति भइरहेको थियो । त्यति विशाल बुद्ध मन्दिरमा बुद्ध जन्मेको देश र स्थानको बारेमा कहि कतै उल्लेख गरेको भेटाएनौ ।
यहाँनिर बुद्ध मन्दिर परिसरमा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने वाक्यांश देखिने गरि राख्न सकेको भए त्यहा घुम्न आउने चीनका आन्तरिक पर्यटक र संसारभरिबाट आउनेको १ प्रतिशत मात्र पनि नेपाल आए नेपाल पर्यटन क्षेत्रको कायापलट हुने थियो भन्ने मन्थन गर्दै त्यहाँबाट निस्कियौ ।
४ सय वर्ष पुरानो किल्ला सहितको यु गार्डेन घुम्न त्यस तर्फ लाग्यौ । पुरातात्विक बस्तुको संरक्षण संगै आधुनिक बगैंचाको सजावटले मन्त्रमुग्ध नहुने होला ! बाहिर ३८–४० डिग्रीको गर्मीलाइ बगैँचा भित्रको कलकल बगेको पानी, पुराना र अग्ला रुखको छहारी, मन्द मन्द चलेको हावाले स्वर्गीय आनन्दको अनुभूति हुँदै थियो ।
त्यसपछि सांघाइ म्युजियम अबलोकन कार्यक्रम अनुसार हामी त्यस तर्फ लाग्यौ । मानव निर्मित सडक किनाराको हरियाली, संरक्षित बोट बिरुवा र ओभरफ्लाइमा समेत गमला वा क्यारी बनाएर गरिएको श्रृङगारले सबैको मन लोभ्याउनु स्वभाविक जस्तो हुन्थ्यो । सांघाइ म्युजियम अबलोकन गरिसकेपछि सांघाइ टावर जाने कार्यक्रम अनुसार सबै भ्रमण टोलिका सदस्यहरू दिनभरको थकाइ बिर्सदै उत्साहित हुँदै त्यस तर्फ लाग्यौं ।
६ सय ३२ मिटर अर्थात २०७३ फिट अग्लो सांघाइ टावर प्रति सेकेण्ड १८ मिटरको गतिमा लिफ्टद्वारा चढ्दाको अनुभूति आश्चर्य थियो नै ! टावरको माथिल्लो भागबाट ३ सय ६० डिग्री बनाएर हेर्दा भुइँबाट हेर्दा गगनचुम्बी देखिने भवन समेत ल्याण्डिङ गर्दै गरेको हवाइ जहाजबाट देखिने शहरको दृष्य जस्तै देखिन्थ्यो ।
सांघाइको सन्ध्याकालिन दृष्यलाइ मन मष्तिष्कमा राख्दै होटल तिर लाग्यौ । भोलिको यात्रा तालिकाको सूचना गर्दै दिनभरको यात्रालाई विश्राम दिइयो । असार १९ गते हामी सांघाइ शहरलाई छोड्दै गर्दा शहर भित्रको सौन्दर्यता अमिट छाप कहिल्यै नबिर्सने गरि बस्यो ।
यहाँका सडक किनाराको हरियाली, ओभरफ्लाइको वालको साइडमा देखिने आकाशे बगैँचा प्रदर्शन गरेको सुन्दरताको कति कसरी बर्णन गरौ ! सांघाइ र इयुको दुरी करिब ३ सय मकिलोमिटरको रहेछ । करिब १ सय कोलोमिटरको यात्रा पश्चात् एउटा रिफ्रेस सेण्टरमा हाम्रो गाडी पार्किङ्मा गइ रोकियो र गाइडले वासरुम जानु पर्ने भए यता भने शौचालय भएतिर देखाए हामी सबै जसो सांघाइ पछिको पहिलो स्टेसन भएकोले त्यस तर्फ लाग्यौं ।
भित्र पस्दै गर्दा त्यहा त केएफसि, मेक्डोना जस्ता अन्तराष्ट्रिय स्तरका ब्राण्डेड शो रुम, फाष्टफोड, जुस, आइसक्रीम र फलफूल समेतका ठूला पसलहरू रहेछन र त्यहाँको सार्वजनिक शौचालय समेत कुनै पाँचतारे होटलको शौचालय भन्दा कम सफा थिएन ।
युरोप घुमेका साथिहरूले त्यहाको सार्वजनिक सौचालयको प्रयोग गर्दा नेपाली रु. १ सय ५० जति एक पटकमा खर्च हुने अनुभव सुनेका हामीहरूले चीनको अहिले सम्मको यात्रामा सहज, सफा र निःशुल्क शौचालय प्रयोग गर्न पाउँदा छुट्टै आनन्द आएको थियो ।
यो पहिलो रिफ्रेस सेण्टरमा हामीले नचिनेका फलफूलहरू सलिनी नानी, राघव समेत केहिले किन्नु भएछ र बस चढेपछि सबैलाइ चखाउँदै बाडिचुँडी खायौं । त्यसको करिव एक घण्टा पछि अर्को रिफ्रेस सेण्टरमा गाडी रोकियो यो पनि अघिल्लो भन्दा कम थिएन त्यहाँ भने हामी केहिले कफी र केहीले जुस/फलफूल लिएर अगाडि बढ्यौं ।
अब हामी इयुको आसपास आइसकेका थियौ । इयुको नजिकै पर्ने सिसाको पुल अबलोकन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार त्यसतर्फ लाग्यौ । पुलको केही तल सम्म गाडी जाँदो रहेछ । हामी गाडिबाट झरेर ठाडो उकालो लाग्यौ । ४० डिग्रीको गर्मी छोटै भए पनि ठाडो उकालोले सबैको पसिना छुटायो र सास बढायो ।
सफा सिसामा तल खोला र भुइ छर्लङ्ग देखिने सिसामा टेकेर हिँड्दा नफुट्ने ग्यारेन्टी हुदाँहुदै पनि मना डरको आँधिबेरी भने सबैका मनमा आयो त्यसमा पनि आधी पुलसम्म फलामको माथिको लठ्ठामा समाउने तल्लो लठ्ठाको आडमा टेकेर आँखा चिम्म गरेर हिँड्ने डरपुरुषको उपाधी बालकृष्ण बस्याल दाइले चुम्न सफल हुनु भो तर पछि उहाँ पनि तङ्ग्रीनु भयो र फटाफट हिँड्नु भयो । यो रमाइलो सिसा माथिको यात्रा पछि हामी इयु तर्फ लाग्यौ ।
फलफूल, जुस, कफी र चियाका साथमा शितलतापूर्ण बायलैण्ड स्टार होटल नामको होटलमा लगेज राखी नजिकैको नेपाली रेष्टुरेन्टमा गइ दिल खोलेर नेपाली खाना अर्डर गरि कोखा चर्कने गरि पुर्ण सन्तुष्टिका साथ खाना खाइयो । होटलको संचालक भैरहवाको हुनु हुँदो रहेछ । करिब ३० वर्ष देखि इयुमा होटल गर्दै आएको साथिको ससुराली भने इयु नै रहेछ ।
खाना खाएर नाइट मार्केट तर्फ लाग्यौ । एकछिन त सबै सँगसँगै जस्तै थियौ तर सडक किनारामा राखिएका भित्री पसलहरूमा समेत आ–आफ्नो चाहाना अनुसार खरिदारी र सोधपुछ गर्दा सबै जसो छुट्टिएछौ । नाइट मार्केटको भिडभाड हेर्दा बुटवलको मेलामा पुस १५ को दिनको भन्दा पनि भिडभाड थियो ।
यो नाइट मार्केट वर्षभरी नै चल्दो रहेछ । प्रवेश टिकट केही नचाहिने, सुरक्षाकर्मी परिचालन गर्नु नपर्ने र आयोजकको परिचय पत्र पनि कसैको हुनै परेन । जसरी हाम्रो हाटबजार संचालन हुन्छ । भोलि सबेरै इयुको प्रमुख ब्यापारिक केन्द्र ग्रिफ्ट मार्केट घुम्ने र किनमेल गर्ने सामुहिक सुचना श्रवण गरि आ–आफ्नो काठा तिर लाग्यौ ।
बिहानको ब्रेकफाष्ट लिएर सबै ग्रिफ्ट मार्केट तिर लाग्यौ । हाम्रो टुर–गाइड मिस्टर रायनले बताए अनुसार करिव चार किलोमिटर लामो दुई किलोमिटर चौडा एउटा फुलएसी जडित कम्प्लेक्स हामी गुम्न जाँदै थियौ । ग्रिफ्ट मार्केट पुगेर हेर्दै र घुम्दै जादा जसरी ग्रेटवाल विश्व चर्चित छ यो कम्प्लेक्स पनि चर्चित हुनु पर्ने होकी जस्तो मेरो मनमा आएको थियो ।
पंकजजीको करिव पन्ध्र वर्ष पहिले देखि कारोवार गरेका प्रतिष्ठानमा पनि लैजानु भयो उहाँहरूको आतिथ्यता सधैभरी संझना आइनैरहनेछ । एउटै कम्प्लेक्समा करिब ८ घण्टा अबलोकन र किनमेल गरेपछि ८ औं तल्लाबाटै लिफ्ट मार्फत झरेर हाम्रो टुर–गाइडको सहयोगमा बस मार्फत होटल आयौँ ।
ग्रिफ्ट मार्केटबाट किनेका समान कोठा कोठामा थन्क्याएर हामी हिजो खाना खाएको नेपाली रेष्टुरेन्टमा खाना खाइ डोमेष्टिक फ्लाइट मार्फत गोन्जाओ उड्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार एयरपोर्ट तिरको तरखर लाग्यौ ।
सांघाइ र इयुको घुमघाममा सहजिकरण गर्ने मिस्टर रायनले इयु एयरपोर्टको सुरक्षा जाँच लगायत व्यवहारिक कुरामा सहजिकरण गरी हामीबाट विदा भए र हामीहरू सबै यात्राको क्रममा जोडिएको असल मित्रलाई विदा गर्दै नरमाइलो मान्दै उडान हुने स्थान तिर लाग्यौ । इयुको एयरपोर्टमा ब्यापारिक शिलशिलामा अन्य नेपाली साथीहरूसंग पनि भेट भयो ।
प्रतिकुल मौसममा पनि हाम्रो फ्लाइट समय मै भयो । करिव १ घण्टाको हवाइ यात्रा पछि हामी चढेको हवाइजहाज गोन्जाओ एयरपोर्टमा अवतरण भयो । होटलमा पस्दापस्दै भोलि सेन्जेन ९ बजे तयार भइ लविमा उपस्थितिको सुचना पनि भयो ।
विहान उठेर ब्रेकफाष्ट लिएर हामी सेन्जेनका लागि करिव १०.३० बजे बस चढ्यौ । बिहानी खाजाले निरस बनाएको मन यात्राको क्रममा देखिएको सडक सौन्दर्यता, ओभर फ्लाइहरू, अण्डरपास जस्ता भौतिक बिकासले उत्साहित बनायो ।
गुडिरहेको गाडिमा बालकृष्ण दाइले सडक किनाराका रुख बिरुवा र ओभरफ्लाइमा निर्माण गरिएको स्काइ गार्डेनका हरेक बोट वृक्षलाई यहाँको सरकारले चिन्दो रहेछ भन्ने गहिरो कुरा राख्नु भो र मलाइ नि चिन्ने मात्र होइ संवाद पनि हुन्छ होला र पहेलो भएको पात झर्नु भन्दा पहिले अनुमती पनि लिन्छ कि क्या हो दाइ भने ।
साँच्चै त्यत्रो यात्रामा कहिँकतै झरेका पात देख्न पाइएन । हङ्कङ्को चिनियाँ भर्सन भनिने सेन्जेन बास्तवमै कल्पना नै नगरिने खालको सुन्दर थियो । राम्रो भने कै अग्ला घर, फराकिला सडक मात्र होइन, सडक प्रयोगकर्ताको अनुशासन, सडक किनाराको हरियाली नै रहेछ ।
एउटा सुन्दर बगैँचा भनौ या तारे होटलको बगैँचा जस्तो सिङ्गो शहर रहेछ सेन्जेन । किनमेलपछि सेन्जेन भित्र रहेको एउटा इण्डियन होटलमा खाना खाइ गोन्जाइ तिर लाग्यौ । यो नै हाम्रो यात्राको चीन बसाइँको अन्तिम रात थियो ।
बिहान सलोनी मास्के छोरीले सर्च गरि गोन्जाओको सुप्रसिद्ध ब्यापारिक केन्द्र ग्रान्डभ्यू मल घुम्ने प्रस्ताव गरिन र हामी सबै त्यस तर्फ लाग्यौ । त्यो सपिङ मल बास्तव मै विशाल थियो । नुन देखि सुन सम्मका सबै बस्तु र सेवाहरू उपलब्ध रहेछन । आ–आफ्ना रहर र आवश्यकताका सरसमानहरू किनमेल पनि प्रसस्तै भयो ।
यहाँ सरिता सापकोटाले करिव ५ लाख बराबरको पहेलो धातु पनि किन्नु भएछ यहाँ । त्यसपछि एउटा इण्डियन शर्माजीको होटलमा कोखा चर्कुन्जेल चौरासी ब्यन्जनको खाना खाइ होटल फर्केर चेक आउट गरि नेपाल फर्कने गरि गोन्जाओ एयरपोर्ट तिर लाग्यौ ।
समग्रमा यो ९ दिनको चीन भ्रमण उत्साहजनक रह्यो । हामीले कल्पना समेत नगर्ने बिकास पूर्वाधार, हरियाली, सरसफाइ, भू–सतह भन्दा तल अर्थात जमिन मुनि, जमिन र आकाशको समानान्तर उपयोगको अनुपम बिकासको नमुना देख्ने अवसर मिल्यो ।
यात्रा भरमा खड्केको एउटा महत्त्वपूर्ण कुरा सांघाइको पुरातात्विक महत्वको बौद्ध मन्दिरमा बुद्ध वज वर्न इन नेपालसम्म पनि लेखाउने प्रयास हाम्रो बेजिङमा रहेको दूतावासले किन नगरेको होला वा प्रयास गरेर पनि नभएको होला भन्ने कौतुहलता भने रहिरह्यो ।
चीनका केही प्रमुख शहरहरूको यात्रामा नेपालका सुरक्षित यात्रा र शहरी सुन्दरताका प्रमुख वाधक मानिएका छाडा चौपाया र भुस्याहा कुकुर भने कहिँ कतै देखिएन ।
(अर्याल बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हुन्)