© २०२३
चेतनशील सामुदायिक वन उपभोक्ता समूहले विकट मैनार–बुलकीय गाउँलाई चन्द्रौटा बजारसँग जोड्ने सडक, कल्भर्ट र सडक बत्ती निर्माण गर्यो।
२२ लाख रुपैयाँभन्दा बढी लगानी गर्दै गाउँको विकासमा सामुदायिक वनको आम्दानी प्रयोग गरिएको छ।
सडक, सिँचाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सुधार भई गाउँ बिस्तारै सहरजस्तो हुँदै गएको स्थानीयको भनाइ।
चन्द्रौटा, १६ साउन ।
“सामुदायिक वनले सामुदायिक उत्तरदायित्वमार्फत सडक सञ्जालसँग ग्रामीण भेगलाई जोडेको छ ।
सुगम नगरपालिकाको स्थापित स्थानको खोलानालाको विकट घना जङ्गलको बिचमा रहेको गाउँलाई सहर बजारसम्म बाटो, कल्भर्ट र सडक बत्तीसँग जोडेर सहजता पु¥याउनु सकारात्मक सन्देश हो ।”
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मैनार गाउँका राजाराम थारुले भने । वडा नम्बर–३ मा रहेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले बाटो सामुदायिक उत्तरदायित्व अन्तर्गत जिम्मेवारी निर्वाह गरेको छ ।
स्थानीय मैनार बुलकीया गाउँवासीको समस्यालाई मध्यनजर गर्दै बाटोघाटो, कल्भर्ट निर्माण, उपभोक्तालाई उपचार तथा काजकिरिया खर्च, ब्लाङकेट वितरण, सडक बत्ती, सामुदायिक भवन लगायतको संरचना निर्माण गर्दा दर्जनौँलाई वनले रोजगारीसमेत सिर्जना गरेको छ ।
यस्तै, अर्की स्थानीय बुलकीय गाउँकी विमला थारुले सामुदायिक वनले संरचना निर्माण गरेर एकदमै सहज भएको बताइन् । उनले सडक र सडक बत्ती नहुँदा आवतजावतमा असहज हुँदै आएको बताउँदै वनले यी सबै संरचनाले हाम्रो गाउँलाई चन्द्रौटा बजारसँग जोडेपछि सहज भएको जिकिर गरिन् ।
उनले भनिन्– “पहिले रात परेपछि हिँड्नै गाह्रो हुन्थ्यो । अब त सडक बत्ती बल्छ, बाटो राम्रो छ, भाइबहिनीहरू पनि सहजै विद्यालय जान सक्छन्, आवतजावत गर्न सहज भएको छ ।”
विभिन्न वनले आम्दानी मात्रै गर्ने सामुदायिक उत्तरदायित्व बहन नगर्ने भए पनि अधिकांश सामुदायिक वन बदनाम भएको चेतनशील सामुदायिक वनका अध्यक्ष रामपाल थारुले बताए ।
वन संरक्षण गर्न सके स्थानीयलाई रोजगारी र आम्दानीको पाटोसँग जोड्ने निकै भरपर्दो माध्यम रहेको उनको भनाइ छ । २२ लाख बढीको लागतमा ‘आफ्नो गाउँ, आफै बनाऊँ’ भन्ने हेतुले गाउँमा लगानी गरेको उनले जनाए ।
वन समुदाय र वन्यजन्तुका लागि अपरिहार्य रहेको बताउँदै अध्यक्ष थारुले भने– “वन हरेक जीवनका लागि अति आवश्यक छ । त्यसैले वनलाई संरक्षण गरी यसबाट आम्दानी गरी समुदायको हितका लागि समेत कार्य गर्न सकिन्छ ।”
वनजंगलमा पाइने हरेक वस्तु आम नागरिकका लागि नभई नहुने हुँदा सबैको हातेमालो गरी सुरक्षा गर्न उनले स्थानीयलाई अध्यक्ष थारुले आग्रह समेत गरे । “सामुदायिक वन केवल आम्दानीको स्रोत मात्र होइन, समुदायको जीवनशैली, वातावरणीय सन्तुलन र भावी पुस्ताको सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र हो,” अध्यक्ष थारु भने ।
वनका सचिव अदालत थारुका अनुसार वन संरक्षणमा सही सोच र नेतृत्व भएमा गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । लाखौँ रुपैयाँ लगानी गरेर नारा उठायौँ– आफ्नो गाउँ, आफैँ बनाऊँ यसको अर्थ हो हामी बाहिर हेर्नुभन्दा पहिला आफ्नै स्रोत र सम्भावनाको सदुपयोग गरौँ ।
विकासका लागि मात्र होइन, चेतनाको लागि पनि हो,’ उनले भने । सचिव थारुले थपे–‘वन जङ्गलमा पाइने जडीबुटी, घाँस दाउरा, पानीका स्रोत, जैविक विविधता–यी सबै हामी सबैको जीवनका लागि आधार हुन् ।’ हामीले यदि आज संरक्षण गरेनौँ भने भोलिको पुस्ताले हामीलाई माफ गर्ने छैन ।
सयौँलाई रोजगारी दिएका थियौँ । सामुदायिक वनलाई धेरैले केवल काठ बेचेर पैसा कमाउने माध्यमको रूपमा मात्रै बुझ्दै आएका छन् । तर चेतनशील वनले त्यो बुझाइलाई गलत साबित गरिदिएको छ ।
अध्यक्ष थारु पुनः थप्छन् – “हामीले वनको संरक्षण मात्रै गरेनौँ, आम्दानीलाई समुदायकै सेवामा लगायौँ । वन हरेक जीवका लागि अनिवार्य छ । हामीले यसको संरक्षण गरे सँगै रोजगारी, आम्दानी र विकास पनि ल्याउन सक्छौँ ।”
यसैबिच अर्का स्थानीय राजविराम थारुले वनले समुदायमा गरेको लगानी अत्यन्तै प्रभावकारी रहेको बताए । सिँचाई, बाटो, सामुदायिक भवन र सडक बत्ती लगायतमा गरेको सामुदायिक वनको लगानीले मैनार, बुलकीयका आम नागरिकले प्रत्यक्ष लाभ लिएको बताए ।
सिँचाइ, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सकारात्मक प्रभाव परेको महसुस गाउँलेहरूले गरेका छन् । स्थानीय राजविराम थारुले भने– “सामुदायिक वनको लगानीले हाम्रो गाउँ रूपान्तरण भएको छ । अब सिँचाइ छ, बाटो छ, सामुदायिक भवन छ–हाम्रो गाउँ बिस्तारै सहरजस्तो हुँदै छ ।”