© २०२३
काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधमुक्त बनाउने लक्ष्यसहित प्रभावकारी रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रबार कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोको निरीक्षण भ्रमणका क्रममा उनले लागू औषधको उत्पादन, सञ्चयन र प्रयोग मुलुकका लागि गम्भीर चुनौती बनेको बताए।
गृहमन्त्री लेखकले लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराधसम्म निम्त्याउने खतरा राख्ने भन्दै, यस विरुद्ध व्यापक रूपमा जनस्तरबाट अभियान आवश्यक रहेको धारणा राखे।
उनले स्मरण गराए, “एक वर्षअघि लागू औषधविरुद्धको महाअभियान सञ्चालन गरिएको थियो, जसले सार्थक परिणाम दिएको छ।”
उनका अनुसार पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा उल्लेख्य प्रगति भएको छ। विशेष गरी युवाहरूमा लागूपदार्थको लत गम्भीर समस्या बन्दै गएको भन्दै, देशको भविष्यसँग जोडिएका ती युवालाई जोगाउन सशक्त कदम चालिनुपर्ने आवश्यकता उनले दोहोर्याए।
गृहमन्त्री लेखकले लागू औषधसम्बन्धी अपराधमा संलग्नमाथि कानुनी कारबाही मात्र पर्याप्त नरहेको, समग्र रूपमा सामाजिक चेतना र सहकार्यमा आधारित अभियान आवश्यक भएको बताए। “यो प्रहरीको मात्र काम होइन, सम्पूर्ण समाजको जिम्मेवारी हो,” उनले स्पष्ट पारे।
निरीक्षणको क्रममा गृहमन्त्रीले प्रहरी महानिरीक्षक दिपक थापालाई लागू औषध नियन्त्रण ब्युरोलाई विभागको स्तरमा विकास गर्ने तयारी अघि बढाउन निर्देशन समेत दिएका छन्।