© २०२३
काठमाडौं ।
बागमती प्रदेशलाई आजदेखि पूर्ण खोप सुनिश्चित प्रदेशको मान्यता प्राप्त भएको छ। भक्तपुरमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमतीलाई पूर्ण खोपयुक्त घोषणा गर्दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई प्रमाणपत्र हस्तान्तरण गरे।
यसअघि नै बागमती प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई क्रमशः पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएपछि अब समग्र प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप अभियानको सफलतालाई निरोगी नेपाल अभियानसँग जोड्दै यसले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय गन्तव्य प्राप्तिमा महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गरे।
उनले स्वास्थ्य सेवा नेपालको संविधानअनुसार मौलिक हक भित्र पर्ने उल्लेख गर्दै भने, “रोग लाग्न सक्छ, तर रोगका कारण र बाटाहरू रोक्न सकिन्छ। त्यसको एक प्रभावकारी उपाय भनेकै खोप हो।”
प्रधानमन्त्री ओलीले गाउँ र शहर सफा बनाउँदै मानिसमात्र होइन, पशुपन्छी र वनस्पति समेत निरोगी बनाउने सोचका साथ सरकार अगाडि बढिरहेको स्पष्ट पारे।
साथै, आगामी २०८३ भित्र नेपाललाई विकासशील मुलुकको दर्जामा उकास्ने तयारीका लागि यस्तो अभियान निर्णायक सावित हुने बताए।
उनको भनाइमा, “समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नेभन्दा ठूलो लक्ष्य अर्को हुन सक्दैन। त्यसै दिशामा सरकार क्रियाशील छ।”
प्रधानमन्त्रीले अन्य प्रदेशहरूमा पनि यस्ता खोप अभियानहरू विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे, जसले समग्र देशमा स्वास्थ्य सुरक्षाको आधार बलियो बनाउने विश्वास व्यक्त गरे।