© 2026
काठमाडौं, साउन १६ ।
आज देशभरका २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार ती जिल्लाहरूमा पर्ने नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मध्यम जोखिम रहेका जिल्लाहरूमा बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोट, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, दार्चुला, बैतडी र डडेलधुरा रहेका छन् ।
महाशाखाले बाढीको जोखिम रहेका र ती जिल्लाहरूको आसपास बहने नदी तथा खोलाहरूमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती प्रदेशको पहाडी भू–भागका एक /दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।
त्यस्तै, आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराईका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा र बाँकी तराई क्षेत्रका केही ठाउँहरूमा पनि मेघगर्जनसहितको मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएको रात मधेश प्रदेशसहित देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
महाशाखाले बाढी, पहिरो र आकस्मिक वर्षाप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ ।

