© २०२३
बुटवल, १६ साउन ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको पोखरामा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट वर्ष २०२५/२६ का लागि मनिष श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
साधारण सभाबाट सुगम घिमिरेलाई लर्निङ चेयर, पुनित अग्रवाललाई मेम्बरसिप चेयर, निदा दुन मल्ललाई ग्रोथ एण्ड एक्सपान्सन चेयर र यश अग्रवाललाई फाइनान्स चेयर, अंकुर अग्रवाल इन्टरनेशनल रिलेसन्स चेयर, चिराग सरावागी स्टार्टअप चेयर, साइनी खेतान नेटवर्क एण्ड कम्युनिकेसन चेयर र सुजीत रेग्मी स्टार्टअप को–चेयरको जिम्मेवारीमा नियुक्त गरेको छ ।
नव निर्वाचित अध्यक्ष मनिष श्रेष्ठले उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नविन योजना र सोचमार्फत युवा उद्यमशीलतालाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष आशिष अग्रवालले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै मञ्चलाई अझ सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरे । यसैबिच वार्षिक भेलाको अवसरमा विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो ।
यो वर्ष सुदयकान्त झालाई ‘सर्वाधिक क्रियाशील सदस्य’ को अवार्ड प्रदान गरिएको छ भने लुम्बिनी शाखा ‘बिगेस्ट मेम्बर इन्टिग्रेशन’ अवार्डबाट सम्मानित गरिएको छ । यसैगरि हिमालय टेलिभिजनको ‘सार्क ट्याङ्क’ स्टार्टअप रियालिटी शोमा सहभागी भएका सदस्यहरू मनिष श्रेष्ठ, सुजित रेग्मी र अर्जुन अग्रवाललाई सम्मान गरिएको थियो ।
सन् २००८ मा स्थापना भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवा नेतृत्व, नवप्रवर्तन र सञ्जाल विस्तारमार्फत उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले काम गर्दै आएको छ ।
पोखरामा सम्पन्न राष्ट्रिय भेलामा देशभरबाट ५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।