© २०२३
काठमाडौं, १६ साउन ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन्।
इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले आफू अब त्यही निष्कर्षमा पुगेको बताएका हुन् कि एमाले विभाजन गर्नु नै गलत निर्णय थियो। “जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म,” खनालले स्पष्ट रूपमा भने। “एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म। पुष्टि नहुनुको अर्थ गलत गरियो।”
यद्यपि, खनालले एमालेमा फर्किने सन्दर्भमा भने सर्तसहितको सम्भावना औंल्याएका छन्। उनका अनुसार, माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, २०६२/०६३ को जनआन्दोलनपछि पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको निष्कर्षमा आधारित समाजवादी क्रान्तिको मार्ग अँगाल्ने, जबज (जनताको बहुदलीय जनवाद) परित्याग गर्ने, र वैज्ञानिक समाजवादलाई लक्ष्य बनाउने सर्तमा मात्र एमालेमा पुन: फर्किन सकिने बताएका छन्।
खनालको यस्तो अभिव्यक्तिलाई नेपाली वाम राजनीति र एमालेको आगामी रणनीतिक सन्तुलनका दृष्टिले गम्भीर रूपमा हेरिएको छ।