Butwal Today

पहाडबाट बसाइँ सरेका र तराई झरेका नागरिकलाई सेवा दिन वडाको टोली तराईमा

१६ श्रावण २०८२, शुक्रबार
अ+
अ-

तिलोत्तमा, १६ साउन ।

पहाडबाट बसाइँसराइ गरेर तराईमा आएका नागरिकलाई लक्षित गरेर वडाको टोली तराई आएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका -५, बाट वडाअध्यक्षको नेतृत्वमा सचिव र प्राविधिकको टोली रुपन्देही आएको हो ।

रुरुक्षेत्र गाउँपालिका–५ बम्घाबाट बसाइँसराइ गरी रुपन्देही र आसपासमा बसोबास गरिरहेका नागरिकका लागि तिलोत्तमामा विशेष प्रशासनिक सेवा शिविर सञ्चालन गरिएको वडाअध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित वडा कार्यालयमा आयोजित एकदिने शिविरमा जन्म, मृत्यु, नाता प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रदान गरिएको अध्यक्ष ज्ञवालीले बताए।

शिविरबाट ७३ जना नागरिकले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् । शिविर रुरुक्षेत्र गाउँपालिका–५ को पहलमा, गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजको समन्वयमा र तिलोत्तमा नगरपालिका–१ को सहकार्यमा सञ्चालन गरिएको समन्वयकर्तामध्येका एक अगुवा प्रकाशलाल श्रेष्ठले जानकारी दिए।

धेरै नागरिक रोजगार, पढाइ र व्यापारका सिलसिलामा शहरमै बस्न बाध्य भएको अवस्थामा सामान्य प्रशासनिक कामका लागि गाउँ जानुपर्ने बाध्यता हटाउन यो पहल गरिएको वडा अध्यक्ष ज्ञवालीको भनाइ छ ।

बम्घाबाटै तराई झरेर तिलोत्तमा–१को जननिर्वाचित प्रतिनिधि समेत बनेका युवा नेता तथा वडाध्यक्ष फर्शुराम गिरीले जन्मस्थलबाट आएका नागरिकलाई लक्षित गरेर सेवा प्रवाह गर्ने काममा समन्वय गर्न पाउँदा खुशी लागेको बताए ।

यस प्रकारको समन्वयले सेवा गाउँ मात्र होइन, शहरमा रहेका नागरिकलाई पनि दिन सकिन्छ भन्ने उदाहरण पेश गरेको अध्यक्ष गिरीले उल्लेख गरे । सम्पर्क समाजका अगुवाहरु प्रकाशलाल श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, रुद्रप्रसाद ज्ञवाली तथा सरोज ज्ञवालीलेलगायतले शिविरका लागि समन्वय गरेका थिए ।

यो शिविरले जनसेवामा स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाएको मात्र होइन, बसाइँसराइले छुटेका नागरिकसमक्ष सेवा पुर्याउने नयाँ मार्ग पनि देखाएको सेवा लिन गएका सैनामैनाका युवा नवराज पुरीले बताए ।

उनले खासगरि ज्येष्ठ नागरिकलाई लक्षित गरेर यसप्रकारका सेवाहरुलाई बेलाबेलामा सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?