© २०२३
पाल्पा, १६ साउन ।
रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो ।
बजार क्षेत्रको सुरक्षा सँगै सौन्दर्यीकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । विशेष गरी रातको समयमा बजार क्षेत्रमा सहज रूपमा आवत जावत गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उनले बताए ।
बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ती जडान गरिएको नगर प्रमुख थापाले बताए । बजारमा अटोमेटिक सिस्टम सहितको हाई मास्क लाइट जडान गरिएको र उक्त लाइटको विद्युत् महशुल नगरपालिकाले भुक्तान गर्ने नगर प्रमुख थापाको भनाई छ ।
बजारको सुरक्षा सँगै व्यवसायीहरूको सहजताका लागि हाई मास्क लाइट जडान गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । जिल्लाकै मुख्य व्यापारिक केन्द्र वेझाँड बजारमा रातको समयमा सहज होस भन्ने उद्देश्यले लाइट माग गरिएको र उक्त माग अनुसार ऊर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत योजना सम्पन्न भएको उनले बताए ।
वेझाँड बजारको उज्यालो शहर अन्तर्गत वडा भित्रका विभिन्न स्थानका सडक र चोकहरूमा सडक बत्ती जडान गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिए । लाइट जडान सँगै रातको समयमा अबेर सम्म पसल व्यवसाय सञ्चालन गर्न र पसलको सुरक्षाका लागि सहयोग पुग्ने रामपुर वेझाँड बजार चोकका व्यवसायी ढुंगाना स्टोर्सका घनश्याम ढुङ्गानाले बताए ।
रामपुर नगरपालिकाले माग गरे अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेश मार्फत ६ लाख रुपैयाँ बराबरको लागतमा १६ मिटर उचाइ, प्रति वल्ब ३ सय वाट क्षमता रहेको ८ वटा गरी २ हजार ४ सय वाट क्षमताको लाइट जडान गरिएको हो ।
यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ । जडान गरिएको हाई मास्क लाइट गर्मीको समयमा साँझ ७ बजे देखि बिहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि बिहान ६ बजे सम्म साथै आवश्यकता अनुसार स्वचालित (अटोमेटिक) रूपमा बल्न र बन्द गर्न सकिने छ ।