© २०२३
दुर्गा प्रसाईँसहित ४ जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
२०८१ साल चैत १५ गते तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा घरमा आगजनी, सरकारी गाडी तोडफोड लगायतका अवाञ्छित गतिविधि भएको थियो ।
बिहीबार सुरु भए पनि नसकिएकाले ‘हेर्दाहेर्दैमा’ राखी शुक्रबार पुनः पेशी तोकिएको हो ।
काठमाडौँ, १६ साउन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ। उनीहरूले जिल्ला अदालतले गरेको थुनामूलक आदेशविरुद्ध उच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका हुन्।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनको क्रममा घरमा आगजनी, सरकारी गाडी तोडफोडलगायतका गतिविधि भएको आरोप उनीहरूमाथि लागेको छ।
सो घटनामा दुर्गा प्रसाईँ मुख्य कमान्डरको भूमिकामा रहेको भन्दै उनलाई राज्यविरुद्धको कसुरमा अभियुक्त बनाइएको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत जेठ २९ गते दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
सो आदेशविरुद्ध प्रसाईँ, सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी उर्फ सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए।
उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ शुरु भएको थियो।
तर सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखेर शुक्रबारका लागि पेशी तोकिएको हो।