© २०२३
बर्दिया, साउन १६ ।
कमैया महिला जागरण समाज नेपाल र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित “नेपालमा कृषिमा आधारित बन्धुवा श्रम अन्त्य परियोजना अन्तर्गत बर्दियाका चार पालिकाका ८ सय जना मुक्तकमैया बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका र बाँसगढी नगरपालिकाका कक्षा ६ देखि ८ मा अध्ययनरत बालबालिकालाई प्रति व्यक्ति करीब २५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री—झोला, कापी, कलम, ज्यामिति बक्स, जुत्ता, मोजा र एक जोर स्कुल ड्रेस—प्रदान गरिएको हो।
आर्थिक अभावका कारण शिक्षा वञ्चित हुन नदिन यो अभियान अघि सारिएको संस्थाका कार्यक्रम अधिकृत राजेन्द्र प्रसाद थारुले जानकारी दिए । कार्यक्रममा समाजकी अध्यक्ष कृष्णी चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, श्रमिक अधिकारजस्ता विषयमा निरन्तर स्थानीय सरकारसँग सहकार्य भइरहेको बताइन्।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले यस्तो कार्यक्रमले विद्यालय छोड्ने दर घटाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी थारु, विभिन्न वडाध्यक्ष, पालिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामग्री पाएपछि बालबालिका र अभिभावक दुवै हर्षित देखिएका थिए।