© २०२३
काठमाडौं, १६ साउन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन लागेका छन्।
मुख्यमन्त्री लामाका निकट प्रदेश सांसद तीर्थ लामाले सभापतिबाट हिजो राजीनामा गर्न निर्देशन आएको पुष्टि गर्दै “भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ,” बताएका छन्।
लामाले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन्। तर हालै नेपाली कांग्रेसको बागमती संसदीय दलमा उनकै नेतृत्वविरुद्ध अविश्वासको प्रस्ताव पारित भइसकेको छ र नयाँ नेताको चयनसमेत भइसकेको छ।
दलको नयाँ नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन्, र कांग्रेसले उनलाई नयाँ मुख्यमन्त्री बनाउन तयारी थालेको छ।
एक पक्षको दाबी अनुसार, लामाले बानियाँसँग पहिले नै एक वर्षपछि पद हस्तान्तरण गर्ने सहमति गरेका थिए। तर सहमतिअनुसार राजीनामा नदिएपछि असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको हो।
लामाले भने संविधानको धारा १६८(२) अनुसार दलको नेता नहुँदै पनि मुख्यमन्त्री बन्न मिल्ने व्यवस्था औंल्याउँदै पद नत्याग्ने अडान लिएका थिए। हाल उनी कांग्रेस र एमालेको गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।
बागमती प्रदेशको यो राजनीतिक अवस्था र नेतृत्व परिवर्तनको प्रयासलाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल समेत भएको थियो।