Butwal Today

रूपन्देही ३ को उम्मेदवारका लागि ३ जनाको नाम भदौ १५ भित्र पठाउन एमालेको निर्देशन

१५ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

रुपन्देही ३ को उपचुनाव तयारीमा एमाले जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रु निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।