Butwal Today

महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने, इतिहासमै ठूलो क्रिकेट प्रतियोगिता

१५ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १५ साउन ।

नेपालले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हालै घोषणा गरेअनुसार, प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुनेछ।

यो प्रतियोगिता हालसम्म नेपालले आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। १० राष्ट्र सहभागी हुने यस छनोट प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका बंगलादेश र आयरल्याण्डले ग्लोबल छनोटका लागि स्वतः छनोट प्राप्त गरिसकेका छन्।

एशिया क्षेत्रबाट थाइल्याण्ड र आयोजक नेपालले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गरिसकेका छन्। अमेरिका क्षेत्रबाट अमेरिका टोलीले छनोट पाइसकेको छ।
अब अफ्रिका र युरोप क्षेत्रबाट दुई-दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्ना क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न भएपछि तय हुनेछ।

नेपालमा आयोजना हुने ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि ‘सुपर सिक्स’ चरण खेलिनेछ, जसपछि अन्तिम खेल ९फाइनल० हुनेछ ।

प्रतियोगिताको विस्तृत तालिका भने आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?