© २०२३
बुटवल, १५ साउन ।
रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।
त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् ।
विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तुल्सीराम भण्डारीको नाममा, बुटवल ९ (ग) को प्रेमदेवी थापा क्षेत्रीको जग्गा शान्ता कुमार कार्कीको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को जग्गा धनीको नाम नखुलेको तर नक्कली जग्गा धनी रन्जन थापा क्षेत्री र कुमार कार्कीको नाममा लालपुर्जा जारी गरिएको प्रहरीले फेला पारेको छ ।
जग्गा माफिया र केही कर्मचारी मिलेर व्यक्तिको जग्गाको नक्कली लालपुर्जा बनाएर सहकाली बचत तथा ऋण सहकारी, मनोहराबाट २ करोड ७० लाख ऋण निकालेको भन्ने सूचना बाहिरिएपछि मालपोत कार्यालय बुटवलका तत्कालीन प्रमुख उपेन्द्र पौडेलले जिल्ला प्रहरी कार्यालय, रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवललाई २०८० असार २७ मा पत्रमार्फत गुहारेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले नक्कली लालपुर्जा निकाल्नमा सहयोग गर्ने पाँचमध्ये मालपोत कार्यालय बुटवलका शाखा अधिकृत घनश्याम अर्याल सहित चार जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे ।