© २०२३
गुल्मी, १५ साउन ।
गए राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको कालीगण्डकी कोरिडोर सडक अवरुद्ध बनेको छ ।
कालीगण्डकी कोरिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे र वडा नम्बर ३ को मुल्क भन्ने स्थानमा सडक माथिबाट ठुलो चट्टान सहितको पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएको जानकारी पाउना साथ प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी हवल्दार रबिन्द्र यादवको नेतृत्वमा प्रहरी टोली अहिले सडक अवरुद्ध बनेको ठाउँमा पुगेर सडक सुचारु गर्न पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
आज बिहान ७ :४५ देखि उक्त सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत र वाग्लुङ् जाने र रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनहरू यति बेला बिच बाटोमै रोकिएका छन् ।
सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ । तर सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै सडक सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।