Butwal Today

आज देशका केही क्षेत्रमा बाढीको जोखिम

१५ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १५ साउन ।

आज दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी र डडेलधुरा जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले ती जिल्लाहरू तथा आसपास बहने खोलानदी र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

यससँगै मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मधेश प्रदेशसहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही ठाउँमा र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेश र अन्य तराई क्षेत्रका एक–दुई ठाउँमा पनि त्यस्तै खालको वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि मधेश र सुदूरपश्चिम प्रदेशसहित पहाडी र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।