© २०२३
नेपाली समाजमा साउन १५ को विशिष्ट महत्त्व छ । आदि परम्परादेखि नै घर घरमा चेलीबेटी बोलाउने र साउन १५ को दिन खीर खाने प्रचलन अहिले पनि कायमै छ । हरेक वर्ष साउन १ गतेदेखि नै नेपालीहरूको चाडपर्व सुरु हुन्छ ।
त्यसमा साउन १५ को दिनलाई खीर खाने दिनको रूपमा नेपालीहरूमा परम्परा बनिसकेको छ । खास गरी पहाडमा जहाँ घर घरमा दूध उत्पादन हुन्छ, ती स्थानमा खीर खाने मौलिक परम्परा छ । तराईमा पनि यो दिनलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन सुरु हुँदै छ ।
खीर दिवस मनाई रहँदा खीरका लागि चाहिने दूध उत्पादन गर्ने कृषकलाई भने प्रोत्साहन छैन । त्यसो त राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेको दिनलाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
त्यसयता सरकारी स्तरबाट हरेक वर्ष साउन १५ गते खीर दिवस मनाउने औपचारितका पूरा हुँदै आएको छ । अर्थात खीर दिवस साउन १५ गते मनाउने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ गते खीर खाने नेपाल परम्परा प्राचीन कालदेखिको परम्परा हो ।
तर, पछिल्लो समय खीरको महत्त्व घटदै गएको हो कि भन्ने आभाष हुन थालेको छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खाना एवं खाजाको रूपमा प्रयोग हुँदै आएको छ ।
पहिलेदेखि नै नेपाली समाजमा बर्षामा खेतीपाती गरेर थाकेका कृषकहरू खीर खाएर थकाई मार्ने र मनोरञ्जन गर्ने परम्परा रहेको थियो । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको भनाई पनि छ ।
दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । खीरको बिषय जीवजन्तुसंग पनि जोडिएको छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि खीर खान पाईन्छ ।
त्यही भएर साउन १५ गतेलाई खीर दिवसको रूपमा मनाउने प्रचलन सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । अर्कोतर्फ साउनदेखि चाडपर्व सुरु हुने र साउन १५ गतेकै दिन चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने परम्परा चलेको हो तर अहिले खीर परम्परा पहाडमा चलिरहेपनि सहरमा भने प्रायः लोप भैसकेको अवस्था छ । युवा पुस्ता खीर भन्दा पनि तयारी खाजा र खानातर्फ बढी आकर्षित भएका छन ।
साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाउने परम्परा रहेको छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रीहरूको मत छ ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने चिकित्सकहरूको भनाई छ । पछिल्लोसमय पहाडबाट बढ्दो बसाईसराईका कारण गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएको छ ।
विगतका समयमा प्रत्येक घरमा गाईभैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र भएपनि परम्परा धान्ने र अरूलाई देखाउनकै लागि भएपनि खीर खानुपर्ने बाध्यता छ ।
यही बाध्यतालाई अव जीवन्त बनाउनु आवश्यक छ । किसानले उत्पादन गर्ने दूधकै कारण खीर दिवस मनाउन पाईएको कुरा ह्दयंगम गरौं । तसर्थ दूधको उत्पादन बढाउन सरकारले दूध उत्पादक किसानलाई प्रोत्साहित गरोस् ।